रुपन्देहीमा ओमप्रकाशलाई सघाउँदै भूपू सैनिक र बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहसमेतको समर्थनमा रुपन्देही–३ बाट आउँदो उपचुनावमा उठ्न लागेका वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याललाई भूपू सैनिकहरुले सघाउने भएका छन् । पूर्व महासेनानी माधवसुन्दर खड्काको संयोजकत्वमा गठित ‘भ्रष्टाचार र कुशासनविरुद्धको मेगा अभियान’ ले उनलाई समर्थन गरेको छ ।
राप्रपा सांसद दिपक बोहोराको निधन भएपछि रुपन्देही–३ जनप्रतिनिधिविहिन छ । आउँदो कात्तिक १७ गते त्यहाँ उपनिर्वाचन हुँदैछ । सो उपनिर्वाचनमा बालेनको कानुनी सल्लाहकारसमेत रहेका अर्याल पनि उठ्नेगरी अस्तिदेखि उतै केन्द्रित रहेकोे बुझिएको छ । गुल्मी घर भएका अर्याल भारतीय सैनिकका छोरा हुन् । अभियानले उनीसँग छलफलसमेत गरिसकेको स्रोतको दाबी छ ।
‘उनी भूपू ईण्डियन आर्मीका छोरा हुन् । भैरहवामा ईण्डियन आर्मीको बाहुल्यता छ । एकातिर बालेनका उम्मेदवार,अर्कोतिर ईण्डियन आर्मीका सन्तान भएकाले पनि उनलाई सजिलो छ,’ स्रोतले भन्यो । ५२ भाइ प्रकरणदेखि प्रतिनिधिसभा विघटनविरुद्धको ठुल्ठूला मुद्दा लडेका अर्याल विगतमा एमाले थिए । २०७६ सालमा एमाले छोडेर विवेकशील साझा पार्टीतिर लागेका उनी मेडिकल अभियन्ता गोविन्द केसीसँग पनि जोडिए ।
प्रत्यक्ष रुपमा राजनीतिमा नआएका उनले पहिलोपटक उम्मेदवारी दिन लागेका हुन् । उनलाई जिताउनका लागि अभियानले पूर्ण रुपमा समर्थन गरेको छ । द्वन्द्वपीडित,सहकारीपीडित, मीटरब्याजपीडितलगायतको आवाज उठाउने भन्दै खोलिएको अभियानमा काँग्रेसका नेता स्व.प्रदीप गिरीका छोरा सन्तोष गिरी पनि जोडिएका छन् ।
त्यस्तै,सहकारी ठगीको अभियोगमा कारागार चलान भएका रवि लामिछाने नेतृत्वको रास्वपाबाट निलम्बित महामन्त्री डा.मुकुल ढकाल पनि अभियानमा संलग्न छन् । १४ लाख सहकारी पीडित बचतकर्ताको आन्दोलनको नेतृत्व गरिरहेका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलब केसी,एक लाख २५ हजार लघुवित्त पीडितको आवाज उठाइरहेका लघुवित्त पीडित समूहका अध्यक्ष मनोज ज्ञवाली पनि अभियानमा छन् ।
२० लाख वैदेशिक रोजगार पीडितलाई समेत समेट्ने अभियानको योजना छ । त्यसैगरी,अभियानमा जोडिनेमा मिडियाकर्मी रचना सिंह,भिक्षु फुन्चोक चोपेल लामा,योगी तारानाथ,निलम पौडेल (तेस्रो लिंगी),मिडियाकर्मी तैयब साह,सामाजिक अभियन्ता नवराज बोहरा,मीरा राई,संगिताकुमारी राम, रिता महतो,मण्डा पौडेल,साश्वत बाँस्कोटा,सामाजिक अभियन्ता डा.अर्चनासमशेर राणा,मिडियाकर्मी हिक्मत डंगोल,एसिड पीडित संगीता मगर,पूर्वप्रहरी रणवीर लिम्बुलगायत पनि छन् ।
मिडियाकर्मी,कानुन व्यवसायी, राजनीतिकर्मीलगायत बौद्धिक व्यक्तिलाई अभियानमा जोडेर पार्टी खोल्ने अभियानको रणनीति भएको स्रोत बताउँछ ।
उपनिर्वाचनपछि पार्टी खोल्दै बालेन
स्वतन्त्रबाट चुनाव जितेका बालेन पार्टी खोल्ने तयारीमा जुटेका छन् । पार्टी खोल्ने पहिलो सिँढी उनले अर्याललाई बनाएको बुझिन्छ । उपनिर्वाचनपछि बालेनले दल दर्ता गर्ने स्रोतको ठोकुवा छ । त्यसका निम्ति बालेनको कोर टिमले काम शुरु गरिसकेको छ । केही दिनअगाडि रुपन्देही पुगेका अर्यालले जनमत सर्वेक्षण गरिरहेका छन् ।
रुपन्देहीमा बालेनको क्रेज कस्तो छ ? भन्ने विषयमा सर्वेक्षण गरिएको छ । उनले रिपोर्ट बुझाएपछि बालेन रुपन्देही जाने स्रोत बताउँछ । ‘चुनावमा उठ्नुअघि सर्वेक्षण गर्न अर्याल रुपन्देही पुगेका छन् । उनले रिपोर्ट बुझाएपछि बालेन रुपन्देही जानेछन्,’ स्रोतले भन्यो, ‘राम्रो प्रतिक्रिया आएमा बालेनले अर्यालको आम सभामा पनि गएर बोलिदिने कुरा भएको छ । तर,डाइरेक्ट सपोर्ट चाँहि नगर्ने भनेका छन् ।’
चुनावपछि परिणाम जे–जस्तो आए पनि बालेनको तर्फबाट अर्यालको संयोजकत्वमा समाज समिति गठन हुने र अन्य राजनीतिक वैकल्पिक शक्तिसँग वार्तामा लाग्ने योजना बनाइएको छ ।
रोचक बन्नेछ उपनिर्वाचन
अर्याल र ठूला दलबीचको भिडन्त निकै रोचक हुने देखिन्छ । रुपन्देही–३ मा नेपाली काँग्रेसको तर्फबाट पूर्वगृहमन्त्री बालकृष्ण खाँण पहिलो प्राथमिकतामा छन् भने एमालेले खिमलाल भट्टराईलाई उठाउने तयारी गरेको छ ।
रास्वपाले अधिवक्ता सुलभ खरेललाई उम्मेदवार बनाउने देखिन्छ । खरेल चेला हुन् भने ओमप्रकाश गुरु । रास्वपा निर्माणमा पनि अर्यालको महत्वपूर्ण भूमिका छ । तर,रविको आनिबानी थाहा पाएपछि बाहिरिएका थिए । यता, डडेल्धुरामा ०७९ को चुनावमा पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग हारेका स्वतन्त्र उम्मेदवार सागर ढकालले पनि रुपन्देहीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
पूर्व प्रधानसेनापतिका सालोको कम्पनीमा पूर्व कर्णेल
भ्रष्टाचारविरोधी मेगा अभियान,रुपन्देहीको चुनाव र बालेनसङ्ग जोडिएका पूर्व कर्णेल माधवसुन्दर खड्कालाई पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले सालोको दिगो उर्जा कम्पनीमा मासिक ३ लाखको जागिर लगाइदिएको खुलासा भएको छ । थापाका सालो राजन रायमाझीले ‘दिगो क्लिन इनर्जी’ चलाउँछन् ।
‘खड्कालाई दिगो इनर्जीको डेपुटी सिइओ बनाइदिएर पूर्णचन्द्रले पुरानो गुण फर्काउनुभएको हो,’स्रोतले भन्यो ।
‘मासुख’ समेत भनी बोलाइने खड्काले महासेनानीमा बढुवा भएको चार–पाँच महिनामै राजीनामा दिएका थिए । उनी पछिल्लो समय राजपरिवारसँग भेटघाटमा व्यस्त रहेको पनि स्रोतले बताएको छ । राणा र शाह परिवारका महिलाहरुसँग उनको सुमधुर सम्बन्ध रहेको छ ।
‘राजपरिवारमा उहाँको निकै राम्रो सम्बन्ध छ,’ स्रोतले भन्यो, ‘आफ्ना सहकर्मीसँग पनि निकट सम्बन्ध छ । हप्तामै चार–पाँच चोटि सँगै बसेर रमझम गर्नुहुन्छ ।’ पूर्वसभामुख कृष्णबहादुर महरा परिवारसँग समेत निकट सम्बन्ध भएका खड्का अहिले पनि कर्णेल,जर्नेललाई पोस्टिङ्ग गर्नसक्ने हैसियतमा देखिन्छन् ।
टिप्पणीहरू