४६ वर्षपछि स्तरबृद्धि हुँदै जुटपानी प्रहरी चौकी

४६ वर्षपछि स्तरबृद्धि हुँदै जुटपानी प्रहरी चौकी

चितवनको कालिका नगरपालिकामा रहेको जुटपानी प्रहरी चौकीको स्तरवृद्धि हुने भएको छ । वि.सं.२०३६ सालमा स्थापना भएको प्रहरी चौकीको ४६ वर्षपछि ईलाका प्रहरी कार्यालयमा स्तरवृद्धि हुन लागेको हो । वडा नम्बर ७ मा रहेको सो प्रहरी चौकीको स्तरवृद्धि हुनुलाई नगरप्रमुख विनोद रेग्मीदेखि स्थानीयसम्मले ऐतिहासिक उपलब्धि मानेका छन् । 

विगतमा उक्त चौकीको कमाण्ड प्रहरी नायव निरीक्षक (सई) दर्जाका अधिकृतहरुले सम्हाल्दै आएका थिए । पहिलोपटक प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले जिम्मेवारी सम्हालेका छन् । इन्स्पेक्टर मनिष श्रेष्ठको हिजो एक कार्यक्रमका बीच पदस्थापन भएको छ । 

स्थानीयले लामो समयदेखि प्रहरी चौकीलाई ईलाका प्रहरी कार्यालयमा स्तरवृद्धि गर्नुपर्ने माग राख्दै आएकोमा कहीँ–कतैबाट सुनुवाइ भएको थिएन । निरन्तर पहल र राजनीतिक दलहरुको सहमतिको परिणामस्वरुप प्रहरी चौकीलाई ईलाका प्रहरी कार्यालयको रुपमा प्रस्तावित गरिएको हो ।

उनको पदस्थापन कार्यक्रममा बोल्दै मेयर रेग्मीले स्तरवृद्धिका लागि प्रस्ताव हुनु ठूलो उपलब्धि भएको बताए । उनका अनुसार स्थानीय राजनीतिक दलहरुको सहमतिअनुसार ईलाका प्रहरी कार्यालयका लागि पटकपटक माइन्यूट गरेर पठाएपनि सम्बोधन हुन सकेको थिएन । 

‘पटकपटक माइन्यूट गरेर सम्बन्धित निकाय पठाइएको थियो । तर, सुनुवाइ भएन । त्यसपछि मैले आफैंले आईजीपी दिपक थापासँग भेटेर सो कुरा राखे । त्यताबाट पनि केही लागेन’,उनले गुनासो पोखे । प्रहरी निरीक्षकको कमाण्डले कालिकामा थप शान्तिसुरक्षा कायम हुनेमा आफू विश्वस्त रहेको पनि उनले बताए । 

साथै, मेयर रेग्मीले नागरिकको सुरक्षाका निम्ति प्रहरीलाई आवश्यक सबै किसिमको सहयोग गर्न नगरपालिका तयार रहेको स्पष्ट पारेका छन् । प्रहरीका लागि नगरपालिकाले गाडीको व्यवस्थापन पनि गरेको छ । बिग्रिएर थन्किएको गाडीलाई नगरपालिकाले आफ्नै खर्चमा मर्मत गरेर प्रहरी चौकीलाई हस्तान्तरण गरेको हो । 

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख गोविन्द पुरीले स्थानीयको माग पुरा भएकोमा खुशी व्यक्त गरेका छन् । कार्यालयले पटकपटक एउटै प्रश्नको सामना गर्नुपरेको उल्लेख गर्दै उनले धेरै प्रयत्नपछि स्थानीयले आफ्नो प्रश्नको जवाफ प्राप्त गरेको बताए । 

‘कालिकामा ईलाका प्रहरी कार्यालय कहिले बन्छ ? भनेर हामीले पटकपटक प्रश्नको सामना गर्नुपर्थ्यों । अब भने त्यसको जवाफ प्राप्त भयो । प्रहरी चौकी ईलाका प्रहरी कार्यालय बनेकोमा एकदमै खुशी लागेको छ’,उनले भने । कालिकाले अब्बल निरीक्षक पाएको बताउँदै उनले कार्यालयमा आवश्यक भौतिक संरचना र दरबन्दी थपिँदै लगिने जानकारी दिए ।

टिप्पणीहरू