नेताहरुलाई सिडियोको सुझाव
ताप्लेजुङका नयाँ प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले आशन र भाषणमा समय खेर नफाल्न र सम्पूर्ण ध्यान विकास निर्माणमा केन्द्रित गर्न जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।
अस्तिदेखि पद बहाली गरेका सेढाईले स्थानीय फुङलिङ नगरपालिकाले आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै जनप्रतिनिधिलाई विकासका संवाहक भनेका छन् । ती संवाहकहरुलाई सुझाव दिँदै भने, ‘समय फर्केर आउँदैन । आशन र भाषणमा समय खेर नफालौं । विकासमा ध्यान केन्द्रित गरौं ।’
पाँच वर्षमा के–के गर्छौं भन्दै फेहरिस्त बनाएर मत मागिएकाले समय खेर गए काम बाँकी रहने उनले सुझाए । ‘मलाई जान्ने रहेछ भनेर व्यंग नगरिदिनु होला’ भन्दै सेढाईंले अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण पनि दिए ।
कार्यक्रममा उपस्थित सबैको नामै बोलाएर खादा ओढाउने प्रवृत्तितर्फ इंगित गर्दै उनले अध्यक्षता गर्ने व्यक्ति र प्रमुख अतिथिलाई मात्र आशन ग्रहण गराई कार्यक्रमलाई छरितो बनाउन उनको सल्लाह छ । आफूलाई समयपालनको अभियन्ता बताउँदै उनले कार्यक्रम समयमा शुरु नगरे पर्खेर नबस्ने चेतावनीसमेत दिए ।
एक सय ५० वटा कानून कार्यान्वयनका सन्दर्भमा प्रजिअको भूमिका महत्वपूर्ण हुने बताउँदै, जनप्रतिनिधिले गर्ने विकास निर्माणमा कसैले अवरोध गरे खबरदारी गर्न आएको बताए । विकास कार्यमा कठिनाइ परे सहयोग गर्न सधैँ तत्पर रहेको प्रतिबद्धता पनि जनाए ।
टिप्पणीहरू