बैंकको सिस्टम बिग्रँदा भाँडा माझ्न बाध्य
सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवामा भएको गडबडीका कारण पैसा तिरेर खाना खान रेष्टुरेन्टमा गएका एक जनाले उल्टै भाँडा माझ्न परेको छ । मोबाइल एपबाट बिलको रकम तिर्न खोज्दा भुक्तानी नभएपछि उनले डिस वासको अवस्था सामना गर्नुपरेको बताए ।
अस्ति बेलुकी करिब एक घण्टा उक्त बैंकको मोबाइल बैंकिंग सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरू समस्यामा परेका थिए । बेलुकी ८ बजेदेखि ९ बजेसम्म मोबाइल एप खुले पनि कारोबार रोकिएपछि धेरै ग्राहकले असुविधा भोग्नु परेको उनीहरुको गुनासो छ ।
एक सेवाग्राहीले रेस्टुरेन्टमा खाना खाएपछि मोबाइल बैंकिङमार्फत बिल तिर्न खोज्दा आफूले हैरानी ब्यहोर्नु परेको कहानी सुनाए । ‘आजभोलि क्यास बोकेर हिँडिँदैन । मोबाइल बैंकिङमै भर पर्नुपर्ने हुन्छ । तर, रकम नजाँदा रेस्टुरेन्टमा करिब एक घण्टा बन्धक जस्तै भई भाँडा माझ्नुपर्ने स्थिति आयो,’ उनले गुनासो गरे।
उनका अनुसार बैंकको २४ घण्टा सेवा दिने हेल्पलाइनमा पटक–पटक सम्पर्क गर्दा सुरुवातीमा ५–१० मिनेटमै सेवा सुचारु हुने आश्वासन दिइएको थियो । तर, एक घण्टाभन्दा बढी समयसम्म कारोबार अवरुद्ध भएपछि रेष्टुरेन्ट मालिकले डिस वास गर्नुपर्ने आशयले कुरा गरेको दुःख पोखे ।
छिल्लो समय अनलाइन भुक्तानी र मोबाइल बैंकिङ सेवामा प्राविधिक समस्या उत्पन्न हुँदा सेवाग्राहीले असुविधा भोग्नुपरेका धेरै घटना सार्वजनिक हुने गरेका छन् ।
टिप्पणीहरू