श्रीमतीले खुट्टा ढोगेको टिकटक हाल्दा एमाले नेतालाई मुश्किल

श्रीमतीले खुट्टा ढोगेको टिकटक हाल्दा एमाले नेतालाई मुश्किल

एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराई हरितालिका तीजको भोलिपल्ट सामाजिक सञ्जालमा भाइरल बनेका छन् । श्रीमती मञ्जु भट्टराईले तीजको अवसरमा पूजा गरेपछि श्रीमान भट्टराईलाई मन्दिर परिसरमा टीका लगाइदिएको र त्यसपछि गोडामा ढोगेको भिडियो टिकटिकमा हालेका कारण खोटाङका पूर्व सांसद तथा झापा इञ्चार्ज एकाएक चर्चामा आएका हुन् ।

तीजका अवसरमा सामाजिक सञ्जालमा ‘श्रीमानको गोडा ढोगेको र कतिपयले गोडाको पानी खाएको’ दृश्यप्रति विगतदेखि नै व्यापक आलोचना हुँदै आएको छ । त्यसमा पनि वामपन्थी विचार राख्ने नेता तथा कार्यकर्ताले त्यसो गरेको दृश्यलाई धेरैले ‘द्वैध चरित्र’ को संज्ञा दिने गरेका छन् ।

महिला अधिकारकर्मी,समाजशास्त्री तथा सर्वसाधारणले त्यस्तो कार्यलाई धार्मिक आस्था र परम्पराको नाममा महिलालाई कज्याउने अभ्यास भनेका छन् । उनीहरूका अनुसार यस्तो प्रचलनले महिलाको आत्मसम्मानमा आघात पुर्याउने र लैङ्गिक विभेदलाई थप  बल पुग्नेछ । 

यता, परम्परागत मान्यता र संस्कारको निरन्तरतामा विश्वास गर्ने महिलाले भने यसलाई ‘पतिको दीर्घायु र पारिवारिक समृद्धिको प्रतीक’ भन्दै बचाउ गरेका छन् ।

टिप्पणीहरू