महानगर र सूचना अधिकारी दुबै उत्कृष्ट

महानगर र सूचना अधिकारी दुबै उत्कृष्ट

भरतपुर महानगरपालिका सुशासन र कार्यसम्पादनमा उत्कृष्ट बनेको छ भने सोही महानगरकी सूचना अधिकारी पनि राष्ट्रियस्तरमा उत्कृष्ट घोषित भएकी छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्यांकनमा पटक–पटक उत्कृष्ट बन्न सफल भरतपुर महानगरपालिका अरु महानगरभन्दा सर्वोत्कृष्ट बन्न सफल भइसकेको छ । संस्थागत क्षमता स्वमूल्यांकन र वित्तीय सुशासन जोखिम मूल्यांकनमा समेत यसले उच्च अंक प्राप्त गरेको छ ।

त्यसैगरी, राष्ट्रिय सूचना आयोगले सूचना दिवस–२०८२ का अवसरमा भरतपुर महानगरपालिकाकी सातौं तहकी अधिकृत मेनका पण्डितलाई ‘उत्कृष्ट सूचना अधिकारी पुरस्कार’ प्रदान गरेको छ । राजधानीमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीबाट पुरस्कार ग्रहण गरेपछि उनले भनिन्,  ‘नेपालभरिबाट पाँच जनामध्ये एकजना हुन पाउनु गर्वको कुरा हो। यसले अझ जिम्मेवारीपूर्वक काम गर्ने प्रेरणा दिएको छ।’

भरतपुर महानगर प्रमुख रेनु दाहालले सामाजिक सञ्जालमार्फत पण्डितलाई बधाइ दिँदै लेखेकी छन्, ‘सूचनाको हकको संरक्षण, प्रवद्र्धन र प्रचलनमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै राष्ट्रिय सूचना आयोगले सम्मानित गर्नु भएकोमा हर्ष छ।’ उनका पोस्टमा प्रतिक्रिया दिँदै लालुराम सापकोटाले लेखेका छन्, ‘मेयरसापको छत्रछायामा, संस्कारमा र निर्देशनमा रहेर काम गर्ने कर्मचारी सबै अब्बल हुन्छन्।’

भरतपुरसँगै चितवनकै खैरहनी नगरपालिकाले पनि उत्कृष्ट सूचना अधिकारीको सम्मान पाएको छ। संस्थागत कार्यसम्पादनदेखि व्यक्तिगत स्तरसम्म, भरतपुर महानगरपालिका र त्यसकी सूचना अधिकारी दुवै उत्कृष्ट बनेका छन् । यसले महानगरलाई गर्विलो उचाइमा पुर्याएको जनप्रतिनिधिहरु बताउँछन् ।

– अजय गोर्खाली

टिप्पणीहरू