तेस्रो बिहेअघि अमेरिकामा श्रीमती पिट्दै पाण्डे

तेस्रो बिहेअघि अमेरिकामा श्रीमती पिट्दै पाण्डे

अमेरिकाको भर्जिनियामा बस्दै आएका नुवाकोटका रामेश्वर पाण्डे विभिन्न विवादमा तानिएका छन् स्थानीय वुडब्रिज क्षेत्रमा उनले गत वर्ष मच्चाएको घरेलु र सडक हिंसासँग सम्बन्धित दुई घटना हालै बाहिरिएको छ ।

नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का उनले यसअघि अमेरिका जान नक्कली कागजात प्रयोग गरेको विवरण जनआस्थाले गत वर्ष मंसिर ५ गते सप्रमाण र सविस्तार लेखेको थियो । अमेरिकी नागरिक भइसकेका उनको सम्पूर्ण डकुमेण्ट ‘फेक’ भएको पत्ता लागेपछि छानबिन अघि बढाइएको थियो । सामाजिक परम्पराअनुसार विवाह गरेर ल्याइएकी जेठी श्रीमती भगवती पाण्डेलाई अमेरिका नलगी उनी प्रेमिकाद्वारा त्यहाँ लगिएका थिए । जेठी श्रीमती काठमाडौंको कारागार कार्यालयमा जागिरे छिन् ।

पछिल्लो विवरणअनुसार गत वर्ष अक्टोबर ७ गते राति १२ बजे वुडब्रिजको ४१०० ब्लक,ह्याम्स्टेड लेन ठेगाना रहेको घरमा उनले मच्चाएको घरेलु हिंसाको रिपोर्ट प्रहरीले पाएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा लेखिएको छ, ‘३१ वर्षीया महिला अर्थात् उनकी श्रीमती र आरोपी पाण्डेबीचको विवाद हिंसात्मक स्थितिमा पुगेको थियो । घटनामा आरोपीले महिलाको घाँटीमा हात राखेर अनुहारमा थप्पड हानेको पाइयो । त्यस्तै, उनले १७ वर्षीया किशोरी (सायद छोरी) लाई धकेलेका कारण उनी रेलिङमा ठोक्किइन् । दुबै जनालाई चोटपटक लागेको पाइयो ।’

प्रहरीले आवश्यक जाँचपछि आरोपी रामेश्वर पाण्डेलाई तत्काल पक्रेर हिरासतमा राखेको थियो । त्यसको अघिल्लो दिन बिहान पौने ९ बजे वुडब्रिजको विन्यार्ड वे र ओक्कोक्वान रोड क्षेत्रमा पनि उनले विवाद सिर्जना गरेको प्रहरीको अर्को रिपोर्टमा उल्लेख छ । अर्का गाडी चालकसँग सुरु भएको मौखिक विवाद हिंसात्मक रूपमा बढ्दा एक गाडीका यात्रुले कम्मरमा रहेको बन्दुक निकालेका थिए भने अर्का चालकले खल्तीमा रहेको चक्कु निकालेर विवादमा उत्रेका चालकको हातमा हानेका थिए । यस क्रममा चालकहरु र गाडीमा रहेका अन्य यात्रु सबै पक्राउ परेको प्रहरीले जनाएको थियो ।

रामेश्वरले आफ्ना दुई सन्तान राजिव र कवितालाई अमेरिका लगिसकेका छन्। दोस्री श्रीमती अप्सरा सेढाईसँग सम्बन्धविच्छेद गरी तेस्रो विवाह गर्ने तयारीमा समेत रहेको खुल्न आएको गत वर्षको समाचारमा उल्लेख छ । उनले झुठ्ठो मृत्युदर्ता प्रमाणपत्र बनाएको, जन्मदर्ता र नागरिकता नक्कली बनाएको, र नुवाकोट तारकेश्वरको जायजेथा धितो राखी बैंकबाट कर्जा लिएको प्रमाण पनि परिवारका सदस्यले फेला पारेका छन् ।

यसअघि अमेरिकास्थित नेपाली समुदायले उनलाई समात्न माग गर्दै सामाजिक सञ्जालमार्फत् अमेरिकी प्रहरीलाई अनुरोध गरेका थिए ।पाण्डेका कर्तुतबारे थाहा पाउन जनआस्थामा प्रकाशित समाचारका लागि यो लिंक खोल्नुहोस् :आफू अमेरिका जान पत्नीमाथि घाेर अत्याचार

 

टिप्पणीहरू