लखन थापाको शालिक उखेलेपछि जनजाति क्रुद्ध
जेन–जी आन्दोलनको नाममा निरंकुश राणा शासनविरुद्ध आवाज उठाउने मुलुककै प्रथम शहिद लखन थापामगरको शालिक उखेलेको भन्दै नेपाल आदिवासी जनजाति महासंघले कडा आपत्ति जनाएको छ। महासंघका अनुसार लखनको शालिक सेती नदीको खोचमा फ्याँकिएको र त्यसको ठाउँमा पृथ्वीनारायण शाहको शालिक राखिएको छ ।
महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै लखन थापामगरको शालिक स–सम्मान पुनःस्थापना गर्न माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाल आदिवासी जनजाति महासंघ यो आन्दोलनका नाममा भएका यस्ता हर्कतहरूको घोर भर्त्सना गर्दै खेद व्यक्त गर्दछ। साथै, प्रथम शहिद लखन थापामगरको शालिक स–सम्मान पुनःस्थापना गर्न माग गर्दछौं।”
महासंघले भ्रष्टाचारमुक्त सुशासन अहिलेको अपरिहार्यता भएको उल्लेख गर्दै राज्य लामो समय सरकारविहीन रहन नसक्ने भएकाले राजनीतिक शून्यता र नेतृत्वविहीनताको अन्त्य गर्दै तत्काल संवैधानिक पद्धतिबाट सरकार निर्माण गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
त्यस्तै, विगतका बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई नामेट गर्ने प्रयास भए तत्काल निर्णायक संघर्षको घोषणा गर्ने चेतावनीसमेत दिएको छ।
विज्ञप्तिमा भनिएको छ, “अब बन्ने सरकारले नेपालको संविधान २०७२ को गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, पूर्ण समानुपातिकता, समावेशिता, आदिवासी जनजातिको पहिचान, आत्मनिर्णयको अधिकार र भाषिक–सांस्कृतिक अधिकार सुनिश्चित गर्नुपर्छ। साथै नेपाल सरकार पक्षराष्ट्र रहेका अन्तर्राष्ट्रिय अभिसन्धिहरूलाई पूर्ण सम्मान र कार्यान्वयन गर्न गम्भीर ध्यानाकर्षण गराउँछौं।”
टिप्पणीहरू