ज्येष्ठ पत्रकार भत्ताको दुरुपयोग यो हदसम्म

ज्येष्ठ पत्रकार भत्ताको दुरुपयोग यो हदसम्म

चितवनको भरतपुर महानगरपालिकामा ज्येष्ठ पत्रकारहरुका लागि स्थापना गरिएको निवृत्तिभरण कोषको केही व्यक्तिले दुरुपयोग गरेको आरोप लागेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखामार्फत् ज्येष्ठ पत्रकारका लागि वितरण गरिँदै आएको मासिक भत्ता गैरपत्रकारहरुले लिइरहेका कतिपयले दाबी गरेका छन् । 

स्थानीय मिडिया र श्रमजीवी पत्रकारहरुको सुरक्षा, संरक्षण र वृत्तिविकासका लागि भरतपुर महानगरपालिकाको पनि सहयोग छ । मासिक ८–१० हजारको छुट्टै लोककल्याणी विज्ञापन र पत्रकारहरुलाई ढल्कँदो उमेरमा आर्थिक रुपमा सहज होस् भनी महिनावारी भत्तासमेतको व्यवस्था गरिएको बताइएको छ । 

नेपाल सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता पाउनुअघि यस्तै ६० वर्षको उमेरमा भरतपुरमा पत्रकारहरुका लागि मासिक चार हजार रुपैयाँ भत्ता व्यवस्था गरिएको छ । यसले सक्रिय जीवनमा पत्रकारिता गरेका श्रमजीवी पत्रकारहरुलाई बूढ्यौलीमा आर्थिक रुपमा केही भरथेग हुने हो । तर, नेपाल पत्रकार महासंघको सदस्यताको दुरुपयोग गर्दै उक्त भत्ता रकममा हिनामिना भइरहेको दाबी गरिन्छ । 

अहिले चार जना पत्रकारले मासिक भत्ता रकम लिँदै आएका छन्, तीमध्ये एकजना अफसेट प्रेस सञ्चालक हुन् भने अर्का मेडिकल व्यवसायी । यी दुई फिल्डमा खटिने÷समाचार लेख्ने पत्रकार होइनन् । 

मासिक भत्ता लिने नारायणगढ घर भएका खोमकान्त रेग्मीको आफ्नै छापाखाना छ । प्रेस पासका लागि वर्षको २–३ वटा लेख लेखेर कुनै मिडिया र पत्रकारसम्बद्ध राजनीतिक संगठनमार्फत् महासंघको सदस्यता लिएको आरोप लागेका क्षेत्रपुरनिवासी सुरेशकुमार अधिकारी पोखरा बसपार्कमा मिलन फार्मेसी चलाउँछन् । 

बिरामी कुरेर औषधि बेच्न सधैं मेडिकलमै रहने अधिकारी बिसौं वर्षदेखि मेडिकल व्यवसायमा आवद्ध रहँदै आएका छन् । त्यसबाट उनको कमाइ पनि राम्रै भैरहेको बुझिन्छ । विभिन्न गैरसरकारी संस्थामा समेत सक्रिय उनले पनि पत्रकार महासंघको सदस्यता लिएका छन् । यसैको आडमा भरतपुर महानगरपालिकाले उपलब्ध गराइरहेको ज्येष्ठ पत्रकार निवृत्तिभरण रकम हात पारेको अरु पत्रकारको गुनासो छ । 

२०७८ मा कार्यविधि नै बनाएर ज्येष्ठ पत्रकार निवृत्तिभरण कोष बनाउन भरतपुर महानगरपालिकाले पत्रकार महासंघ चितवनलाई २० लाख रुपैयाँ दिएको थियो । तर, महिनाको चार हजारका दरले वर्षको ४८ हजार रुपैयाँ फोकटमा वृद्ध पत्रकारका नाममा यी व्यापारीहरुले पचाएको देखिन्छ । 

जनताले करवापत तिरेको सय, ५० रुपैयाँबाट जम्मा भएको रकम पत्रकारका नाममा वितरित भत्ता गैरपत्रकारको हातमा चरम दुरुपयोग भइरहेकाले अब सरोकारवालाहरूको ध्यानाकर्षण हुनुपर्ने भएको छ । 

टिप्पणीहरू