निर्वाचनमा उधारो खाएकाहरुबीच पोलापोल
नेकपा एमाले निकट अखिलका केही विद्यार्थी नेतामाथि लाखौँ रुपैयाँ उधारो खाएर अहिले बेपत्ता भएको आरोप छ । छ महिना बितिसक्दासमेत होटलमा खाएको बिल चुक्ता नगरेका उनीहरु त्यसपछि होटलमा एक पटक पनि देखा नपरेको बताइन्छ । घटना गत वर्षको स्ववियु निर्वाचनताकाको हो ।
चैत ५ गते त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन गराएको थियो । राजधानीको मीनभवनस्थित नेपाल कमर्श क्याम्पसमा तोकिएकै दिन मतदान भयो । १६ वर्षपछि चुनाव जितेर एमालेनिकट अखिलले क्याम्पसमा आफ्नो वर्चस्व कायम गर्यो । निर्वाचनबारे छलफल गर्न संगठनका उम्मेदवार र पूर्व विद्यार्थी नेताहरु शंखमूलस्थित ‘ए वान क्याफे’मा भेला हुने गर्थे । फागुन २९ देखि चैत ५ गतेसम्म मात्रै उनीहरुले तीन लाख ७६ हजार रुपैयाँ बराबरको खाना–खाजा खाएको क्याफेको दाबी छ ।
त्यसमध्ये एक लाख रुपैयाँ तत्काल तिरिएको थियो भने दुई लाख ७६ हजार रुपैयाँ बाँकी देखिन्छ । होटलले बक्यौता तिर्न आग्रह गरेपछि २०६५ सालका स्ववियु सचिव श्यामकाजी खत्री ‘यिनीहरुले नतिरे म छु नि’ भन्दै जमानी बसेका थिए । तर, अहिलेसम्म पनि रकम नतिरिएको बताइन्छ । बल्लतल्ल एक लाख रुपैयाँ व्यवस्थापन भएको तर त्यो पनि संगठनको आर्थिक विभागका केन्द्रीय उपाध्यक्ष धर्म गिरीसँग रहेको अरुको भनाई छ ।
श्यामकाजीको आग्रहमा एमाले निकट एक जना प्राध्यापकले आफ्नो गाँस कटाएर एक लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर, त्यो पैसा धर्मले बिहानै गएर उठाएपछि दिउँसो पैसा लिन पुगेका श्यामकाजी त्यो रहस्य थाहा पाएपछि अक्क न बक्क भएको स्रोतको दाबी छ ।
गिरी मार्फत् चुनावमा मात्रै चार लाख ५० हजार खर्च भएको थियो । फोन र यातायातमा दुई लाख ९० हजार, अध्यक्ष उम्मेदवार विशाल रोकाहाले ९० हजार थप्दा जम्मा खर्च आठ लाख ३० हजार पुगेको थियो । हाल नरेफाँटमा ‘बर्गर हाउस’ सञ्चालन गरिरहेका धर्मले प्राध्यापकले दिन खोजेको एक लाख आफ्नै खर्चमा कट्टा गरेको अरुको भनाई छ ।
उता, होटलबाट दिनहुँ दर्जनौँ पटक फोन आउन थालेपछि श्यामकाजी तनावमा परे । उनले कलेजबाटै धर्मलाई फोन गरेर भनेका थिए, ‘ए धर्म, त्यो त ए वानमा तिर्न बाँकी पैसा हो, के गरेको यार ?’ त्यसमा धर्मले जवाफ दिएका थिए, ‘अघिल्लो पटक मेरो खर्च भएको थियो, त्यही तिरेको हुँ ।’
पैसाको तनावले श्यामले महासचिव शंकर पोखरेललाई पत्रमार्फत जानकारी दिने तयारीसमेत गरे । गत वैशाख २१ गते समय मिलाएका थिए, तर विशेष जिल्ला कमिटीका एक पदाधिकारीले ‘आफैं मिलाउँला’ भन्दै रोकिदिए । सो कमिटीका एक सदस्य भन्छन्, ‘त्यो पत्र पोखरेलको हातमा पुगेको भए के हुन्थ्यो ? युवाहरु अहिलेदेखि यति लोभी छन् भने भोलि ठूलै ठाउँमा पुगेपछि के गर्लान् ?’
रेष्टुरेन्टका अनुसार, ‘हामीले उधारो दिने गरेका थिएनौं, उहाँहरुले एकचोटि तिर्छौं भनेपछि विश्वास गरेका थियौं । अहिलेसम्म बिल चुक्ता भएको छैन । फोन गर्दागर्दै हत्तु भइसकियो । त्यसयता उनीहरु देखापरेका पनि छैनन् ।’
यता, क्याम्पस स्ववियु सभापति रोकाहाले पनि बाँकी रकमबो स्वीकारेका छन् । उनले भने, ‘त्यो पैसा अहिले पनि बाँकी नै छ । त्यतिबेला एक लाख त मैले आफ्नै खर्चबाट तिरेको हुँ । बाँकी रकम जुटाउने काम भइरहेको छ, छिट्टै नै चुक्ता गर्छौं ।’
टिप्पणीहरू