घरविहीन भएका विडारी भन्छन्- 'चप्पल समेत लगाउन दिएनन् !'
बरिष्ठ अधिवक्ता रामनारायण विडारीले जेन-जी प्रदर्शनको क्रममा घर जलेपछि घरबारविहीन भएको भन्दै दुखेसो पोखेका छन् ।
जिन्दगीभर कमाएको पैसाले एउटा घर बनाएको र त्यो पनि खरानी भएपछि अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको उनको भनाइ छ । जेन-जी प्रदर्शनको नाममा भदौ २४ गते अराजक भीडले विडारीको घरमा लुटपाटपछि आगो लगाएका थिए ।
सोक्रममा आफूलाई जबर्जस्ती घरबाट निकालिएको विडारीको गुनासो छ छ । ‘मलाई चप्पलसमेत लगाउन नदिएर नाडीमा समातेर बाहिर निकाले’, उनले भनेका छन्, ‘यो देशमा मेरो एउटा घर थियो, त्यो पनि जलाइदिए, अब म सँग कुनै घर छैन ।’
जेन-जीको माग र एजेण्डालाई आफूले समर्थन गरेको तर उल्टै आफ्नो घरमा आगो लगाइएकोमा विडारीले आश्चर्य व्यक्त गरेका छन् । ‘म कुनै भ्रष्टाचार गर्ने प्रकारको नेता थिएन, न त कुनै त्यस्तो पदमा थिए, तर जलाइदिए । मेरो जिन्दगीभरको आम्दानी गरेर बनाएको त्यही एउटा घर थियो, अब त्यो रहेन, अहिले घरविहीन मान्छे हुँ’ उनले थपेका छन् ।
आफ्नो भागमा परेको पारिवारिक अंश खरानी हुँदा मन दुखेको विडारीको दुखेसो छ । उनले अघि थपेका छन्, ‘पहिले जागिर गर्थे, पछि कानुन व्यवसाय गरे, बाउले थोरै अंश दिएका थिए, यी सबैबाट जम्मा भएको पैसाले त्यही एउटा घर बनाएको थिएँ । घरमा ठूलो लाइब्रेरी बनाएको थिएँ, अब कहिल्यै बनाउन सक्दिैन । बाउले दिएको अंश खरानी हुँदा मन दुखेको छ ।’
संविधानसभा सदस्यसमेत रहेका विडारीले घरमा आगो लगाउनेहरूप्रति आक्रोश जनाए । उनीहरुलाई समातेर कारवाही गर्नुपर्ने माग गर्दै थपेका छन्, ‘घरमा आगो लगाउनुको कारण के रहेछ ? सतिले सरापेको देश भनेको यही होला ! आगो लगाउनेहरु जेनजी होइनन्, उनीहरुलाई कारवाही गर्नुपर्छ ।’
टिप्पणीहरू