केपी ओलीसहित पाँच जनाकाे राहदानी राेक्का, उपत्यका छोड्न अनुमति अनिवार्य

केपी ओलीसहित पाँच जनाकाे राहदानी राेक्का, उपत्यका छोड्न अनुमति अनिवार्य

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरिएको छ । 

जेन-जी प्रदर्शनमा भएको दमनबारे छानविन तथा अनुसन्धान गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकसहित पाँच जनालाई विदेश जान रोक लगाउन सरकारलाई सिफारिस गरेको हो । पासपोर्ट रोकिनेमा पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पनि छन् । 

घटनाको अनुसन्धानका क्रममा उनीहरू जुन कुनै बेला पनि आयोगको कार्यालयमा उपस्थित हुनुपर्ने भएकाले उपत्यकाबाहिरको यात्रामा समेत प्रतिबन्ध लगाउन भनिएको छ । 

सरकारले जेन-जी प्रदर्शनको क्रममा भएको घटनामाथि छानविन र अनुसन्धान गरी कारवाहीको सिफारिस गर्ने कार्यादेशसहित पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगका सदस्य विज्ञानराज शर्माले आज एक पत्र लेख्दै घटनाका सम्भावित दोषीमाथि निगरानी राख्न माताहतका निकायलाई खबर गरेका हुन् । 

आयोगले उपत्यका छाड्न नपाउनेगरी निगरानी गर्न भने पनि पूर्व गुप्तचर प्रमुख थापा केही दिनअघि नै गृहजिल्ला रोल्पा पुगिसकेका छन् । तत्कालीन प्रजिअ रिजाल पनि उपत्यकाबाहिर नै रहेको बुझिएको छ ।

त्यस्तै, तत्कालीन गृहमन्त्री लेखक मातृ शोकमा छन् ।

टिप्पणीहरू