सरकारका कारण डराएर बस्नुपर्ने अवस्था छ : एमाले नेता

सरकारका कारण डराएर बस्नुपर्ने अवस्था छ : एमाले नेता

नेकपा एमालेका नेता महेश बर्तौलाले अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको बताएका छन् ।

सरकारको चरित्र र कार्यप्रणालीका कारण आम नागरिक र कर्मचारीहरूले त्रास, भय महशुस गरिरहेको उनले दाबी गरे । राजनीतिक दलका नेता-कार्यकर्ता, अभियन्ता र शुभचिन्तकहरूले स्वतन्त्र रूपमा सत्यको वकालत गर्नुपर्ने बेला डराएर बस्नुपर्ने बाध्यता रहेको बर्तौलाको भनाइ छ । 

'आम मानिसभित्र राज्यका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरु पनि एउटा त्रासमा, भयमा, डरमा भएको जस्तो हामीले महशुस गरिरहेका छौँ', उनले भने, 'समग्र राजनितिक अभियान्ताहरु, कार्यकर्ताहरु, नेता वा शुभचिन्तकहरु पनि आफ्ना विचारहरुलाई स्वतःस्फुर्त ढंगबाट सत्यका बारेमा सत्यको वकालत गर्नको लागी पनि कता कता डर मान्नुपर्ने, भय मान्नुपर्ने, त्यो परिस्थिति सिर्जना भइरहेको छ ।' 

दण्डहीनता फैलन नदिन र विधिको शासन कायम गर्नुपर्नेमा जोड दिँदै बर्तौलाले परिभाषित जिम्मेवारीअनुसार राज्यका अंगहरूले निष्पक्ष, स्वतन्त्र र सहज रूपमा काम गर्न पाउने वातावरण सरकारले निर्माण गर्नुपर्ने बताए ।

अनाधिकृत व्यक्तिहरूले राज्य संयन्त्रमा खुलेआम प्रवेश गरेर निर्देशन जारी गर्नु लोकतान्त्रिक शासनका लागि स्वीकार्य नहुको धारणा छ । हामी नेपाल संस्था नामक एनजीओका सुधन गुरुङले पछिल्लो समय जेन—जीको नाममा सरकारी संयन्त्रलाई खुलेआम रुपमा निर्देशन दिने, महत्वपूर्ण बैठकमा प्रवेश गर्ने लगायतका कार्य गर्दै आएकोप्रति उनको यस्तो प्रतिक्रिया आएको हो ।

 गुरुङले केही समयअघि नेपालको वर्तमान संविधान च्यात्ने कि जोगाउन भन्नेमा आफू दोधारमा रहेकोसमेत बताएका थिए । एमाले नेता बर्तौलाले केही व्यक्तिले ७० वर्षको बलिदानीबाट बनेको संविधान च्यात्ने कि जोगाउने भन्ने द्विविधामा पर्ने अवस्था आउन दिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । 

राज्यका औपचारिक निकायहरूमा अनाधिकृत रूपले पहुँच र निर्देशन दिने घटना लोकतान्त्रिक, लोक कल्याणकारी शासनका लागि उपयुक्त नभएको उनको भनाइ छ । यसमा सम्बन्धित मन्त्रालय र नेतृत्वलाई बर्तौलाले मुख्य दोषी औंल्याए । 

नेतृत्वले नै कसलाई कुन भूमिका दिने र कसको निर्देशन लिने भन्ने निर्णय गर्नुपर्नेमा उनले जोड दिएका छन् । र, यो लापरवाहीले देशलाई दिशाहीनतातर्फ लैजान सक्ने चिन्ता बर्तौलाले व्यक्त गरे । 

सामाजिक सञ्जाल तथा सार्वजनिक मिडियामा देखिएका दृश्यहरूले सुरक्षा संयन्त्र र कर्मचारीहरूको मनोबलमा नकारात्मक प्रभाव परेको पनि उनले बताए । राज्यलाई असल ढंगले कसरी चलाउने, परिभाषित जिम्मेवारी के हुन्छ भन्ने कुरामा स्पष्टता हुनुपर्नेमा जोड दिए ।

टिप्पणीहरू