सिंहदरबार पुगेर सरकारलाई एमाले नेताको सुझाव

सिंहदरबार पुगेर सरकारलाई एमाले नेताको सुझाव

इलाममा पहिरोले जनधनको ठूलो क्षति पुर्याएपछि नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन् । सिंहदरबार पुगेका नेम्वाङले गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधार निर्माणमन्त्री कुलमान घिसिङलाई भेटेर यस्तो माग गरेका हुन् । 

इलाम–२, का निवर्तमान सांसद सुहाङले दुई मन्त्रीसहित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टलाई पनि भेटेर इलाम पहिरोले निम्त्याएको संकट, राहत र पुनःस्थापनाको योजनाबारे ध्यानाकर्षण गराएका छन् ।

त्यसक्रममा विगतदेखि अति आवश्यक भूगर्भविद्लाई सम्पूर्ण इलामको माटो परीक्षण गरी आउँदो समयमा यस्ता घटना नहोस् भन्ने सुनिश्चित गर्दै दिगो व्यवस्थापनका लागि अनुरोध गरिएको उनले बताए । ‘अहिलेको, पटक पटकको समस्याको समाधान, नागरिकको सुरक्षा र सेवाका निम्ति एकीकृत बस्तीका लागि पनि सोच बनाउने कुरा राखियो,’ सुहाङले भनेका छन् । 

पहिरोमा ज्यान गुमाएका सबै परिवारलाई क्षतिपूर्ति दिन, एक जना गुमाएको खण्डमा दुई लाख र एकभन्दा बढी मृत्यु भएमा थप प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले क्षतिपूर्ति दिनुपर्ने उनको माग छ । अस्थायी व्यवस्थापनका लागि प्रभावितहरुलाई दुई किस्तामा रकम उपलब्ध गराउन, अवरुद्ध बाटो, पुल र विद्युत यथाशीघ्र सञ्चालनमा ल्याउन पनि माग गरिएको छ ।

 

सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न, स्थानीय प्रशासनका निर्देशन पालना गर्न र सम्भावित जोखिम भएका क्षेत्रमा नजान अनुरोध गर्दै सुहाङले भनेका छन्, ‘यस कठिन घडीमा हामी सबै एकजुट भएर प्रभावित परिवारहरूलाई सहयोग र राहत पुगोस् भन्ने अपिल गर्दछु । इलामका प्रत्येक नागरिकको सुरक्षा, पुनःस्थापना र मनोबलका लागि म सम्बन्धित निकायहरूसँग निरन्तर समन्वयमा छु ।’

हालैको अविरल वर्षा पछिको बाढीपहिरोमा इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता छन् ।

टिप्पणीहरू