प्रहरीको तर्क बहानाबाजी : अनेरास्ववियु
प्रहरीले केरमेट भएको जनाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र हामी नेपालका संस्थापक सुधन गुरुङ्गविरुद्धको जाहेरी दर्ता नगरेपछि नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ ।
प्रहरीले हिजो २४ घण्टाभित्र अध्ययन गरेर निर्णय लिने जनाएको तर आज जाहेरीमा केरमेट भएको उल्लेख गर्दै दर्ता नगरेपछि अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले प्रहरीको दृष्टि बढाउनुपर्ने अवस्था आएको बताएका छन् ।
सामाजिक सञ्जालमा केही बेरअघि स्ट्याट्स लेख्दै उनले हिजो सद्दे दिएको जाहेरी आज कसरी केरमेट भयो ? भन्दै प्रहरीलाई प्रश्न गरेका छन् । लेख्छन्,‘हिजो हामीले नेपाल प्रहरीका आँखा देख्ने अफिसरलाई जाहेरी बुझाएका थियौं । आज कसरी त्यो केरमेट भएछ । यस्तो बेतुकको तर्क प्रहरी अधिकारीबाट नै बाहिर आएको हो भने त्यो प्रहरीको मनोबल मात्र होइन, दृष्टि पनि बढाउनुपर्ने भो ।’
जेन–जी आन्दोलनको नाममा देखिएको अराजक भीडलाई राष्ट्रिय सम्पदामाथि आगो लगाउन उक्साउनेहरुविरुद्ध हिजो अनेरास्ववियुले जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएको थियो । परिसरले अध्ययनपछि दर्ता गर्ने भनेकोमा जाहेरीमा केरमेट भएकाले दर्ता गर्न नमिल्ने बताएको हो ।
हाल अनेरास्ववियु टोली वकिलसहित परिसर गएको बडालले बताए । जनआस्थासँग उनले भने,‘हिजो उहाँहरुले हेरेरै लिनुभएको हो । केरमेट भएको भए त लिनु नै हुँदैनथ्यो होला । यो बहानाबाजी मात्र हो । हाम्रो टोली वकिलसहित परिसर जाँदैछ ।’
टिप्पणीहरू