गौरीबहादुर कार्कीलाई ओलीको प्रश्न - गंगाजलले नुहाउनुभयो कि सुनपानी छर्किनुभयो ?

गौरीबहादुर कार्कीलाई ओलीको प्रश्न - गंगाजलले नुहाउनुभयो कि सुनपानी छर्किनुभयो ?

नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी घटनामाथि छानविन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन नमान्ने बताएका छन् ।

आज भक्तपुरको गुण्डुमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले आयोग नियोजित रुपमा गठन गरिएको दाबी गर्दै एमालेका लागि मान्य नहुने बताएका हुन् । आयोगका अध्यक्ष गौरीबहादुर कार्की निष्पक्षतामाथि प्रश्न उठाउँदै ओलीले भनेका छन्, ‘यो नक्कली आयोग एमालेका लागि मञ्जुर छैन ।’ 

विशेष अदालतका पूर्वअध्यक्ष कार्कीले जेन-जी प्रदर्शन जारी रहेका बेला पक्षमा अडान लिँदै राजनीतिक दलका नेताविरुद्ध सामाजिक सञ्जालमा शृंखलावद्ध स्टाटस लेखेका थिए । जसका कारण उनी नेतृत्वको जाँचबुझ आयोगले घटनाको निष्पक्षरूपमा अनुसन्धान गर्नेमा धेरैले शंका गरेका छन् । 

आयोगले केही दिनअघि ओलीसहित पाँच जनाको राहदानी रोक्न सरकारलाई सिफारिस गरेको थियो । यसबाट झन् चिढिएका ओलीले कार्कीको नैतिकतामाथि प्रश्न उठाए । 

‘आयोगमा बस्नुभन्दा अगाडिका अभिव्यक्तिहरू सप्रमाण आइसकेपछि उहाँहरूले राजीनामा दिनुपर्दैन ? एउटा मान्छे अहिलेको अहिले विरोधीबाट निष्पक्ष हुनुसक्छ ?’, उनले प्रश्न गरे, ‘निष्पक्ष हुन के गर्नुभयो ? गंगाजलले नुहाउनु भयो कि बागमतीको पानीले ? कि सुनपानी छर्निनुभयो, के गरेर उहाँ निष्पक्ष हुनुभयो ।’

अध्यक्ष ओलीले प्रतिशोध साँधेर जस्तोसुकै प्रतिवेदन तयार पार्न आयोगलाई सुविधा रहेकाे टिप्पणी पनि गरे । ‘लेख्नुस् जे जे लेख्नुपर्छ, तयार पार्नुस् प्रतिवेदन, के के गर्ने हो गर्नुस्, तर तपाईको प्रतिवेदन हामीलाई मान्य हुने छैन, एमालेलाई मान्य हुनेछैन’, उनले थपे ।
 

टिप्पणीहरू