भदौ २४ को विध्वंसमा कलाकार र टिकटकरविरुद्ध प्रहरीमा किटानी जाहेरी
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र ‘हामी नेपाल’ नामक एनजिओका संस्थापक सुधन गुरुङसहित जेन-जी अभियन्ता, कलाकार, टिकटकरविरुद्ध प्रहरीमा कटानी जाहेरी परेको छ ।
अनुप उप्रेती र राजन चेम्जोङले आज भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसर पुगेर जाहेरी दिएका हुन् । बालेन र सुधनविरुद्ध यसअघि पनि युवराज सफल र नेकपा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले जाहेरी दिएका थिए ।
उप्रेती र चेम्जोङेको जाहेरीमा बालेन र सुधनसहित कलाकारहरू संजोग कोइराला, निश्चल बस्नेत, हिमेश पन्त, रिमा विश्वकर्मा, टिकटकर मनोज केसी, रास्वपा नेतृ ज्वाला संग्रौला, युटुवर भाग्य न्यौपाने, भोजराज थापा, राजिव खत्री, जेनजी अभियन्ताहरु भावना राउत, रक्षा बम, पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, योग्यता भण्डारी, जेम्स कार्की, दिपकजंग अधिकारी, युजन भण्डारी र ओजस्वी थापामाथि राज्यविरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर, आतंकवादविरुद्धको कसुर, हातहतियार खरखजानासम्बन्धी कसुर र राष्ट्रिय सम्पदाविरुद्धको कसुरमा अनुसन्धान गर्न माग गरिएको छ ।
जाहेरीमा आफूलाई सामाजिक अभियन्ता बताउने केपी खनाल र पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठमाथि समेत अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ ।
जाहेरकर्ताले जाहेरीसँगै विभिन्न फोटो, भिडियो र समाचारको अर्काइभ पनि पेश गरेका छन् ।
टिप्पणीहरू