प्रहरी र निजामती प्रशासनभित्र चौका हान्ने दाउ

प्रहरी र निजामती प्रशासनभित्र चौका हान्ने दाउ

गत वर्ष भदौ २५ गते ५६ वर्षे उमेर हद लागेर भूपू भएका तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीको दौडधुप नयाँ सरकार गठनपछि ह्वात्तै बढेको छ । अवकाशलगत्तै विदेश हान्निएका उनी ठ्याक्कै एक वर्षपछि विशेष परिस्थितिमा सरकार परिवर्तन भएको मौकालाई आफ्नो पक्षमा पार्न कुदिरहेको देखिन्छ । 

काठमाडौं महानगर प्रमुख बालेन साहका फोहोरमैला सल्लाहकार कलाकार अर्जुन पाण्डेसँग ज्ञवालीसहित सिआइबी प्रमुख एआइजी डा. मनोज केसीले यसवीच गरेको भेटलाई अर्थपूर्ण मानिएको छ । आगामी महिना फेरिने महानिरीक्षकमा आफू अनुकूलको पात्र ल्याउन ज्ञवाली सक्रिय भएको गृह मन्त्री निकट श्रोतको दावी छ ।

जेन जीका नाममा गत भदौ २३ गतेको प्रदर्शन र भोलिपल्टको विध्वंशपछि उत्पन्न परिस्थितिलाई नेपाल प्रहरीको दशकौंको मूल्य मान्यता नै ध्वस्त बनाउने मौकाको रुपमा प्रयोग गर्न खोजिएको सउल्लेख गर्दै सोही श्रोत भन्छ, ‘भदौ २३ को घटनामा पूर्व प्रधानमन्त्रीदेखि गृहमन्त्री र सिडिओसम्मलाई मुद्दा हाल्न लगाउने सुझाव उनीहरुकै दिमागी उपज हो । त्यसमा मुख्यसचिव एकनारायण अर्याल,अख्तियार प्रमुख प्रेम राई र एआइजी दानबहादुर कार्की मुख्य बाधक हुने भएपछि रवि लामिछानेलाई जेलबाट भगाउन बल गरेको भन्दै उनीहरुविरुद्ध विभिन्न अनलाइनमा समाचार लेख्न लगाइएको हुनुपर्छ ।’

२३ गतेको घटना हुँदा एआइजी सिद्धिविक्रम शाह अपरेसन (कार्य बिभाग) प्रमुख थिए । उनलाई पनि त्यहाँबाट महाराजगन्जको तालिम केन्द्रतिर धपाइएको छ । ‘२३ गते उनी स्वयम् बानेश्वरमा खटिएको बेला डेढ दर्जनको ज्यान गएको र दानबहादुरले २४ गते प्रहरीलाई युनिट खाली गर्न आदेश दिई रविलाई भगाउन भूमिका खेलेको बात लगाइएको छ । कार्की अहिले प्रहरीको पहिलो वरियताका एआइजी हुन् भने शाह पनि आइजिपीका दावेदार मानिन्छन् । यी दुइटालाई लेखेपछि सहज हुने केसीलाई र थोरै राहत पुग्ने राजन अधिकारीलाई नै हो । रवि लामिछाने गृहमन्त्री रहिरहेको भए श्याम ज्ञवालीले फुली थप्न सक्थे तर त्यो च्याप्टर पहिले नै क्लोज भएकोले उनी कार्कीको खेदो खन्न र केसीको उत्थान गर्न कस्सिएको बुझ्न गाह्रो छैन ,’ स्रोतको दावी छ ।

गृहसचिव रामेश्वर दङ्गाल भन्छन्, ‘आदेश दिएकै आधारमा सिडिओलाई थुन्न थाल्ने हो भने कुन निजामती कर्मचारी भोलि जिल्ला चलाउन जान्छ ?’

यता हिजो सिआइबीमा गरिएको प्रस्तुती र केसीको प्रतिक्रिया नरुचाउने डिआइजी गोविन्द थपलियालाई आज गृहमन्त्री ओमप्रकाश अर्यालले सारेर मधेस पठाएका छन्  । थपलियाले हिजोको प्रस्तुतीमा भनेका थिए, ‘उपत्यकाबाट लुटिएका हातहतियारको अझै कम्प्लिट लिष्ट आएको छैन । आगलागीको डिटेल र हतियारको अवस्थाबारे ठ्याक्कै भन्न सकिने अवस्था छैन ।’

लगत्तै एआइजी केसीले उनको प्रस्तुतीलाई विषयान्तर गर्दै भनेका थिए, ‘कुरै नगर,त्यहाँको कुरो अर्कै छ । अर्कै कुरोलाई यहाँ भनिरहन आवश्यक छैन ।’ बैठकमा सहभागी एक जनाले भने, ‘हाकिमकै भनाई पूर्वाग्रही भएपछि कसको के लाग्छ ?’ 

प्रहरीभित्रको खेलोफड्कोवारे आफू अनुकूल प्रचार प्रसार गर्न विगतमा काटाकाटको सम्बन्ध भएका गुल्मीका पत्रकार मदनबाबु भण्डारीले ज्ञवालीलाई सहयोग पुर्याएको बताइन्छ । स्रोत भन्छ, ‘भण्डारीमार्फत् मिडिया म्यानेजमेन्ट हुने गरेको छ । ज्ञवाली र मदन भण्डारी अहिले मिलेका छन् । उनीहरुबीच पहिले बोलचालको अवस्थासमेत थिएन ।

भदौको घटनालाई लिएर पूर्व प्रधानमन्त्रीदेखि सिडिओसम्मलाई जसरी पनि समात्नुपर्ने भन्दै ज्ञवाली र केसीले सल्लाह दिएबमोजिम बालेन साह गृहमन्त्री र प्रधानमन्त्रीसम्म पुगेको  बताइन्छ । यसमा प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ्गको भनाई छ, ‘उजुरीकै आधारमा भएभरका सबैलाई पक्रने र हिरासतमा राख्दै जाने हो भने भोलि तीबाहेकका घटनासँग सम्बन्धित अरु सुरक्षा निकाय र निजामती कर्मचारीहरु पनि मुछिएको उजुरी परे सबैलाई पक्रनुपर्ने हुन्छ । के यो सब गर्न सम्भव छ ?’ 

उनीहरुका अनुसार घटनाको अनुसन्धान,त्यसमा पनि यस्तो विषयको थालनी सबैभन्दा तल्लो तहबाट गर्नुपर्ने हुन्छ । ‘आन्दोलनमा जसले बन्दुक पड्कायो,त्यही प्रहरी जेल जाने हो भने भोलि कुन सिपाहीले बन्दुक बोक्ला ?’ गृह सचिव रामेश्वर दङ्गाल भन्छन्, ‘आदेश दिएकै आधारमा सिडिओलाई थुन्न थाल्ने हो भने कुन निजामती कर्मचारी भोलि जिल्ला चलाउन जान्छ ?’ 

एकातिर बालेनविरुद्धको मुद्दा अख्तियारमा विचाराधीन छ उता बिचौलिया दीपक भट्टको खेल अर्कै देखिन्छ । यस्तो अवस्थामा पुलिस नै कोल्याप्स हुने,सिडिओ नै फेल खाने, निजामती सेवाको मूल्य मान्यता नै ध्वस्त हुने अवस्थातिर इङ्गित गर्दै गृहसचिवको ठम्याइ छ-प्रहरीभित्र भइरहेका खेलउपर बेलैमा विचार नपुर्याउने हो भने अर्को दुर्घटना निम्तिने निश्चित छ । अख्तियार प्रमुखदेखि सबै आयुक्त र प्रधानन्यायाधीशसम्मको राजीनामा माग्नु पछाडिको अन्तर्यवारे आन्दोलनकारी भनिएका जेन जी समूहले चुरो कुरो नबुझेसम्म मुलुक थप अन्धकारभित्र धकेलिन कुनै बेर लाग्ने छैन ।

टिप्पणीहरू