आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने काँग्रेस बैठकको निर्णय
शनिबार बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
बैठकले सर्वसम्मत रुपमा निर्वाचनमा भाग लिने निर्णय भएको हो । बैठकले २०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन रहेको निश्कर्षमा कांग्रेसले गरेको छ । कांग्रेस बैठकले ११ माघदेखि हुने राष्ट्रियसभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय समेत गरेको छ ।
यसैवीच, नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले महाधिवेशनबारे सर्वसम्मत निर्णय गर्ने प्रयास भइरहेको बताउँदै यस बिषयमा चाँडो निर्णय हुने बताएका छन् । केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महतले भने ‘महाधिवेशन र विशेष महाधिवेशनबारे उठाइएको विषयमा हामी चाँडै निर्णय गर्छौँ ।’ विवादित विषयमा सहमति जुटाउने प्रयास भइरहेको जानकारी महतले दिए । आजको बैठकबाट कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक मंसिर ११ गतेका लागि तय गरिएको छ ।
प्रवक्ता महतले विशेष महाधिवेशन माग गर्नेहरूको भावनालाई सम्बोधन गरेर नियमित महाधिवेशनको कार्यतालिका आउने दाबी समेत गरे । यतिबेला काँग्रेसमा महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने, विशेष गर्ने कि नियमित गर्ने भन्ने बिषय पेचिलो बनेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन असम्भव देखिएको निश्कर्ष निकाल्दै पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् । संस्थापन (शेरबहादुर–पूर्णबहादुर) पक्ष भने महाधिवेशन फागुन २१ को चुनावपछिसम्म धकेल्ने रणनीतिमा छ ।
‘२०८२ साल माघ ११ गते आइतबारदेखि हुने राष्ट्रियसभा सदस्य निर्वाचन र २०८२ साल फागुन २१ गते बिहिबारका दिन हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा तत्काल दर्ता गर्ने निर्णय गर्दछ,’ महामन्त्री थापाले भने ।
टिप्पणीहरू