क्रिकेट र बल

क्रिकेट र बल

– सिंहराज

गत शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट रंगशालामा एनपिएल सम्पन्न भएकाे छ । देशमा भद्रगोल चलिरहे पनि क्रिकेटचाहिँ राम्रै चल्याे भन्नुपर्‍यो । किनभने क्रिकेट हेर्न दर्शक मात्र होइन, नेपाली फिल्म क्षेत्रका ठुल्ठूला कलाकार पनि रंगशाला पुगेका थिए। कहिले हिरो पुगे त कहिले हिरोइन् । कहिले जोकर त कहिले भिलेन । क्रिकेट मैदानमा हिरो–हिरोइन पुग्दा मिडियाले क्रिकेट खेलाडीभन्दा पनि उही हिरो–हिरोइनलाई बढी फोकस गरेकाे देखियाे । मिडियाभरि उनीहरू नै छाइरहे । क्रिकेट त कता हो कता । मिडियालाई क्रिकेटभन्दा हिरो अथवा हिरोइन प्यारो लाग्ने । कारण के होला ? 

म त के भन्छु भने क्रिकेट मैदानमा हिरो छिर्नुसम्म त ठीकै हो, हिरोइनलाई चाहिँ छिर्नै दिनु हुन्न । हिरोइनहरूले क्रिकेटलाई पूरै डुबाउलान् जस्तो छ । किनभने हिरोइनहरू क्रिकेट हेर्न यसरी जान्छन् कि क्रिकेट हेर्न आएका दर्शकहरू क्रिकेट हेर्न छोडेर उही हिरोइनतिर हेरिरहेका हुन्छन् । यसले गर्दा दर्शकको ध्यान क्रिकेटको बलभन्दा पनि अन्यत्र गइरहेको हुन्छ । यस्तो गर्न भएन । क्रिकेट हेर्न आएपछि क्रिकेटै हेर्ने हो । अरू कुरा हेर्ने होइन । यदि बल नै हेर्नु छ भने क्रिकेटकै बल छ, त्यसैलाई हेर्नू । किन अरू बल हेर्नु ?

(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित) 

टिप्पणीहरू