प्रचण्डलाई घाइते योध्दाको खुला पत्र

प्रचण्डलाई घाइते योध्दाको खुला पत्र

नेकपा माओवादी केन्द्र नयाँ सांगठनिक संरचनामा जाने बहस चलिरहेका बेला जनयुध्दका एक घाइतेले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुलापत्र लेखेर केन्द्रीय समितिमा घाइते–अपाङ्गको प्रतिनिधित्व सुनिश्चित गर्न सुझाव दिएका छन् । माओवादी केन्द्रले पार्टीका कमिटीहरू बहुपदीय संरचनामा लैजाने र महिला,युवा, दलितलगायतको सहभागिता बढाउने तयारी गरिरहेका बेला प्रचण्डलाई घाइते कार्यकर्ताको यस्तो सुझाव आएको हो । माओवादीको प्रस्तावित नयाँ विधानमा सबै तहका कमिटीहरू समावेशी बनाउने उल्लेख छ । गत वैशाखमा पारित संशोधित विधानमा हरेक कमिटीमा ४० प्रतिशत महिला र २० प्रतिशत युवा सहभागिता सुनिश्चित गरिएको छ ।

वडादेखि केन्द्रसम्म कमिटीमा महिला,युवा,दलितको सहभागिता बढाउन विधानमा यस्तो व्यवस्था गरिएका बेला जनयुध्दका घाइते–अपाङ्गले पनि आफूलाई कमिटीमा समेट्न प्रचण्डलाई सुझाएका हुन् । त्यसो त माओवादीले इमेलमार्फत देशभरबाट कार्यकर्ता, शुभचिन्तकको सुझाव संकलन गरिरहेको छ । सिन्धुलीका सुरेन्द्रकुमार बम्जनले अध्यक्ष प्रचण्डलाई खुला पत्र लेख्दै अपाङ्ग घाइतेदेखि सहिद,बेपत्ता परिवार र पूर्वजनमुक्ति सेनाहरूलाई पनि केन्द्रीय समितिमा समेट्न सुझाव दिएका हुन् । उनले विभिन्न घटकमा विभाजित माओवादी शक्तिलाई एकीकृत गरेर शक्तिशाली पार्टी बनाउने दिशामा पहलकदमी लिनसमेत प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

यस्तो छ बम्जनले लेखेको पत्रः

म बाल्यकालदेखि नै तपाईंकै बिचारमा समाहित हुँदै माओवादी केन्द्रको एक कुशल र जुझारु कार्यकर्ताका रुपमा छु । बाँचुञ्जेल तपाईंकै मोर्चामा सहभागी हुनेसमेत प्रतिज्ञा गरेको छु र सक्रिय रुपमा अहिले पनि लागिरहेको छु । म हाल शारीरिक रुपमा अपाङ्ग भएपनि मानसिक रुपमा एकदमै सक्रिय छु,र पार्टीको साधारण सदस्य हुँ । तर,अहिलेसम्म कुनै पनि समितिमा आवद्ध भने छैन । पछिल्लो समय पार्टीमा राजनीतिक टकरावसँगै केही गडबड भइरहेको हामी सबैलाई थाहा नै छ । यसो हुनुमा बाहिरी परिस्थिति जति जिम्मेवार छ हामीभित्रका कमजोरीहरू पनि उत्तिकै जिम्मेवार छन् भन्ने लाग्छ । त्यसैले अब हामीले ती कमजोरी खोतल्नुपर्छ,र निर्मम समीक्षा गर्दै आन्दोलनलाई संगठित गर्नु जरुरी छ ।

राष्ट्रिय राजनीतिमा प्रभाव बढाउन पहिले पार्टी बलियो हुनुपर्छ भन्ने लागेको छ । त्यसैले सम्पूर्ण शक्ति पार्टी व्यवस्थापनमा केन्द्रित गरौँ । अध्यक्ष प्रचण्ड,पार्टीका कमिटीहरूमा युवाको प्रतिनिधित्व बढाउन तपाईंले जुन निर्णय गर्नुभयो त्यो असाध्यै सराहनीय छ । त्यसमा थप के सुझाव दिन चाहन्छु भने, अपाङ्ग–घाइतेदेखि सहिद,बेपत्ता परिवार र अयोग्य भनिएका पूर्वजनमुक्ति सेनाहरूसँग पनि छलफल गरेर उनीहरूको सहभागितालाई पनि सुनिश्चित गराउनुहोला । जनयुद्धको मूल शक्ति यही हो,यसैको शक्तिमा पार्टी बन्छ भन्ने मलाई विश्वास छ ।

साथै,विभिन्न समयमा टुटफुट र विभाजनका कारण छरिएर रहेका माओवादी घटकहरूसँग एकताको पहल पनि तपाईंले नै गर्नुपर्नेछ । माओवादी शक्ति एकताबद्ध भयो भने मात्र हाम्रो पुरानो शक्ति फर्काउन सकिन्छ । त्यसले राष्ट्रिय राजनीतिमा प्रभाव मात्र बढाउँदैन देश माओवादीमय पनि हुनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ । क. प्रचण्डकै नेतृत्वमा फेरि एकपटक देशमा नयाँ छलाङ्सहित माओवादी पार्टी पुनर्संगठित भएर राज्यसत्तामा पुग्नेछ भन्ने आशा राख्दै यो सानो सुझाव लेखेको छु ।

सुरेन्द्रकुमार बम्जन (हाल अपाङ्ग), सिन्धुली घ्याङलेख गापा–१ अमले मोबाइल : ९८५११८९००६

टिप्पणीहरू