बर्षमान-ओनसरी घोडामा जलजलातिर

बर्षमान-ओनसरी घोडामा जलजलातिर

नेकपा (माओवादी केन्द्र) का नेता एवम पूर्वमन्त्री वर्षमान पुन घोडा चढेर दलबलसहित ऐतिहासिक धार्मिकस्थल जलजला पुगेका छन्। बुबा ईखराम र आमा तीर्थमाली पुनले वर्षौंअघि गरेको भाकल पूरा गर्न श्रीमती ओनसरी घर्तीसँगै उनीहरू जलजला गएका हुन् ।

वर्षमान ‘बेस क्याम्प’देखि जलजला मन्दिरसम्म घोडा चढेर पुगे तर ओनसरी भने हिँडेरै गइन् । स्थानीयका अनुसार उनीहरू दश वटा घोडा लिएर त्यहाँ पुगेका हुन् । घोडा सवारको दश हजार शुल्क पूर्वमन्त्री पुन आफैँले तिरेका थिए ।

वर्षमान र ओनसरीसँगै प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन ‘सिजल’, स्थानीय माओवादी कार्यकर्ता र परिवारका सदस्य पनि थिए। उनको सुरक्षाका लागि इन्स्पेक्टरसहित आठ जना सुरक्षाकर्मी खटिएका थिए ।

ईखराम र तीर्थमालीले बज्यू बराह, कइलु बराह र बामापुअको पूजाअर्चना गरे भने वर्षमान र ओनसरीले यी क्षेत्रको दर्शन गरे । भेडा बोकेर पाँच वर्षमा जलजला पुग्ने भाकल गरेका ईखराम र तीर्थमाली छोरा–बुहारीसहित दश वर्षपछि पुगेको बताइएको छ।

तीन वटा भेडा बोकेर पूर्वमन्त्री पुन स–परिवार जलजला दर्शमा निस्केपछि आलोचना खेपिरहेका छन् । जलजला पुगेको संयोग पारेर माओवादी नेता पुनले धर्मशाला भवनको उद्घाटनसमेत गरेका छन्।

यद्यपि परिवार र स्थानीय माओवादी कार्यकर्ता बोकेर धार्मिकस्थल पुगेका वर्षमान र ओनसरीले पूजाआजा नगरेको माओवादी कार्यकर्ताहरूको दाबी छ।

रोल्पा–रूकुमका कम्युनिष्टहरूमा धर्मप्रति आस्था राख्ने जमात ठूलो छ । धार्मिक आस्थाअनुसार जलजलाको बाह्रभाइ बराह शक्तिशाली पीठ मानिन्छ । जलजला क्षेत्र धार्मिकसँगै पर्यटकीय रूपमा पनि अब्बल छ।

टिप्पणीहरू