पैसाको भरमा बाँडिएको हो त पद ?
जोसँग जे छ, त्यो नदेखाई ‘बा’ बाट केही पाइन्न । घटीमा १ लाख बुझाउनेले केन्द्रीय सदस्य, १० लाखसम्म उठाएर बुझाउनेले केन्द्रीय सचिव पाए । १५१ जनाको केन्द्रीय कमिटीमा केही त्यस्ता अनुहार पनि अटाए जसले निवर्तमान अध्यक्ष केदार देवकोटाको बंगला ठड्याउनका लागि सहयोग जुटाएका थिए ।
अनि केही बुझाउन नसक्ने कर्मचारीचाहिँ तीन दिनको रमिता हेरेर जिल्ला फर्किए । फागुन २८ देखि ३० गतेसम्म बबरमहलस्थित कार्की ब्यांक्वेटमा चलेको नेपाल निजामती कर्मचारी संगठनको अधिवेशनमा धनवाला र गणेशप्रवृत्तिका कर्मचारीलाई च्यापिएको भन्ने गुनासो व्यापक छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै प्रतिनिधि लाखापाखा लाग्ने स्थिति बनेपछि उनीहरूले मञ्चबाटै आपत्ति जनाएका थिए तैपनि जब धन बोल्छ तब सत्य चुप लाग्छ भनेझैं गुनासो सुन्ने कसले ?
देवकोटाको भक्तपुर, लोकन्थलीमा भवन निर्माणका लागि आर्थिक सहयोग गरेका गोविन्दराज शिवाकोटी, देवेन्द्र ढकाल, रेणुका केसीलगायत दर्जनौँलाई केन्द्रीय समितिमा राखिएको बताइन्छ । यस्तै, लेखा समूहका धेरै जुनियर कर्मचारी केन्द्रीय समितिमा अटाउनुलाई पनि आर्थिक चलखेलका रूपमा केहीले अथ्र्याएका छन् ।
विधानअनुसार केन्द्रीय सदस्य हुन कम्तीमा एक पटक जिल्ला सदस्य या पदाधिकारी हुनै पर्ने प्रावधान छ । यस्तै, आधिकारिक ट्रेड युनियनको जिल्ला सदस्य या पदाधिकारी भएको व्यक्ति मात्र केन्द्रीय सदस्य बन्न योग्य ठहर्छ । तर, कमिटीमा झण्डै चार दर्जन विधानविपरीत लगिएका छन् ।
कसैलाई तीन कार्यकाल केन्द्रीय कमिटीमा दोहो¥याइएको छ । लोकसेवा भिडेको तीन वर्षमै प्रदीप फुँयाललाई माथि लगियो । जबकि ०५५ सालदेखि संगठनमा रहेका होमशंकर बाँस्तोला, विमल श्रेष्ठ, अनुप ढकालदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै कर्मचारीमाथि अन्याय भएको ती कर्मचारीको गुनासो छ ।
गोविन्दराज शिवाकोटी र होमबहादुर खड्काहरू तारन्तार केन्द्रीय कमिटीमा पर्नु र अघिल्लो महाधिवेशनमा खुलाबाट दोस्रो स्थानमा सबैभन्दा बढी मत ल्याएकी पराजुली थरकी महिलाले यसपटक स्थान नपाउनुलाई पनि आर्थिक चलखेलसँग जोडेर हेर्न थालिएको छ । उनका श्रीमान् उपसचिव तहका कर्मचारी हुन् ।
सरुवा मिलाइदिन अध्यक्ष केदार देवकोटासँग आग्रह गर्दा तीन लाख मागिएको चर्चा छ । प्रकाश निरौला पनि केन्द्रीय कमिटीमा दोहोरिनेमा पर्छन् । प्राप्त विवरणअनुसार चुनावका नाममा केदार देवकोटाले अर्थ मन्त्रालयबाट १० लाख रुपैयाँ उठाएका थिए ।
यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत देवेन्द्र ढकालले श्रम विभागबाट दश लाख लिएको चर्चा छ । यातायातमा रहेका गोविन्दराज शिवाकोटीहरूले २ लाख ७५ हजार बुझाएर तेस्रो पटक पनि केन्द्रीय सदस्य पाएको बताइन्छ ।
टिप्पणीहरू