काभ्रेमा नेकपा एसको फैलावट
स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा ठूला राजनीतिक दलहरुले एक अर्काका नेता,कार्यकर्ता प्रवेश गराउन प्रतिस्पर्धा गरिरहेका बेला काभ्रेको तेमाल गाउँपालिकामा एकीकृत समाजवादीले कांग्रेस र एमालेका दर्जनौँ कार्यकर्तालाई स्वागत गरेको छ ।
हिजो तेमाल गाउँपालिका स्तरीय भेला तथा पार्टी कार्यालय उद्घाटनको अवसरमा विभिन्न पार्टी परित्याग गरी दर्जनौँको संख्यामा कार्यकर्ता समाजवादीमा प्रवेश गरेका हुन् । कार्यक्रमअघि ठूलो संख्यामा कार्यकर्ताले नारा जुलुससहित बजार परिक्रमा गरेका थिए ।
तेमालमा एकीकृत समाजवादीको पक्षमा जनलहर देखिएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताएका छन् । आफ्नो पार्टी बलियो प्रतिष्पर्धी शक्तिका रुपमा उभिएको उनको दावी छ ।
सो अवसरमा समाजवादीका केन्द्रीय सदस्य तथा काभ्रेका अध्यक्ष टोकबहादुर वाईवाले आफ्नो पार्टी एक्लै चुनावी प्रतिस्पर्धामा जान सक्ने हैसियतमा भए पनि गणतन्त्रविरोधी शक्तिलाई परास्त गर्न गठबन्धन आवश्यक भएको बताए । एमाले अध्यक्ष केपी ओली गणतन्त्र विरोधी भएकाले सो पार्टीलाई भोट हालेर व्यवस्थाको रक्षा नहुने उनको भनाइ छ । ‘एमालेलाई भोट हाल्नु भनेको गणतन्त्रलाई विघटन गर्नु हो’, उनले भने ।
कार्यक्रममा केन्द्रीय सदस्य मुकुन्द गौतम,समाजवादी काभ्रेका सचिव दिपक गौतम,अनेमसंघ काभ्रेकी अध्यक्ष पासाङ डोल्मा लामा लगायतको उपस्थिति थियो ।
टिप्पणीहरू