उपचार रकमको नाममा बिरामी डेढ महिनादेखि राजधानीमै बन्धक

उपचार रकमको नाममा बिरामी डेढ महिनादेखि राजधानीमै बन्धक

उपचार खर्च तिर्न नसक्दा पाँचथरको फालेलुङ गाउँपालिका ५, प्राङबुङका ३४ वर्षीय शुक्रबहादुर मगरलाई डेढ महिनादेखि अस्पतालमा बन्धक बनाइएको छ । उपचार खर्च तिर्न नसक्दा उनी काठमाडौंको दीर्घायु अस्पताल,चाबहिलमा फागुन १ गतेदेखि बन्धक बनेका हुन् ।

उपचार खर्च तिर्न नसक्दा दाजुलाई अस्पतालले बन्धक बनाएको उनकी बहिनी निर्मला मगरले बताइन् । अस्पतालको ‘२१४ नम्बरको बेडमा दाजु बन्धक हुनुहुन्छ,’ निर्मलाले भनिन् ‘उहाँलाई डिस्चार्ज गर्न नसक्दा हरेक दिन अस्पतालले बिल बढाइरहेको छ ।’

उपचार खर्चमध्ये ४० प्रतिशत रकम भुक्तानी गरिएको निर्मलाको भनाइ छ । ‘अब सात लाख ३५ हजारभन्दा बढी रकम तिर्न बाँकी छ,’ उनले भनिन् ‘अहिलेसम्म रकम जुटाउन सकिएन ।’ अप्रेशन, बेड, औषधि र अस्पताल भर्ना शुल्कको रकम तिर्न बाँकी रहेको बताइएको छ ।

बैदेशिक रोजगारीका लागि आवेदन गर्न काठमाडौं आएका शुक्रबहादुर उच्च रक्तचापका कारण अचानक बिरामी परेका थिए । उपचारका लागि अस्पताल भर्ना भएका शुक्रबहादुरकोे टाउकोको अप्रेशन गरिएको छ । उक्त अस्पतालका चिकित्सक गोपालरमण शर्माको टीमले अप्रेशन गरेको हो ।

‘अझै पनि दाजुको एकातर्फको हातखुट्टा चलेको छैन,’ बहिनी भन्छिन् ‘थेरापी गर्दा ठीक हुन्छ भनेर चिकित्सकहरुले सल्लाह दिनुभएको छ । अस्पतालमै बन्धक बनेपछि थप उपचार गराउन पाइएको छैन ।’

शुक्रबहादुरलाई अस्पतालबाट डिस्चार्ज गर्न उनको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । चाबहिलस्थित ग्लोबल आइएमई बैंकमा ढकराज मगरको नाममा ३७०७०१०१६३७७४ नम्बरको खाता खोलेर आर्थिक सहयोगको याचना गरिएको छ ।

टिप्पणीहरू