गुरुहरुको क्षेत्रमा एमालेभित्र ठूलो गड्बडी

गुरुहरुको क्षेत्रमा एमालेभित्र ठूलो गड्बडी

अरु त अरु नै भए, माधव नेपालकै भाइले एमाले छोडे, दाजु अध्यक्ष भएको एकीकृत समाजवादीतिर लागे । तर, चैत २ गतेसम्मको सदस्यताचाहिँ एमालेमै नवीकरण भएको देखिन्छ । पार्टी फुट्यो । नेता–कार्यकर्ता यताउता भए । तर, सदस्यताचाहिँ एमालेमै राखेर कतिपय समाजवादीमा खुलेका छन् ।

माधव नेपालका आफ्नै भाइ सरोज उपाध्याय शुरुदेखि नै समाजवादीमा भए पनि मैले त्यता छाडें है, अभिलेखबाट झिकिदेऊ भनेको पाइन्न । ताहाचल क्याम्पस पढाउने प्राध्यापक पुष्पाकुमारी कर्ण समाजवादीको केन्द्रीय सदस्य, सांसद, राष्ट्रिय हित सुरक्षा विभागको प्रमुख र संसदीय विभागको सदस्य गरी चारथरि जिम्मेवारीमा छिन् । तर, सदस्यता एमालेले नवीकरण गरेको छ ।

एकीकृत समाजवादीको जलस्रोत विभागमा रहेका विद्युत् प्राधिकरणमा कार्यरत रामप्रसाद रिमाल र कुमार ओझाको पनि एमालेले सदस्यता आफूतिरै रहेको दाबी गरेको छ । अरु त अरु इञ्जिनियर, प्राध्यापकजस्ता बौद्धिक व्यक्तिले नै घोषित कित्ताकाट नगरी बढीजसो यस्तो काम गरेका छन् । जस्तो कि, सरस्वती क्याम्पसका चन्द्र ढकाल, पिकेकी इन्द्र आचार्यसहित थुप्रै प्राध्यापकले एमाले छाडेका छन् । इञ्जिनियर कपिल आचार्य समाजवादीको जलस्रोत विभागमा, छवि ओझा विज्ञान तथा प्रविधि विभागमा छन् ।

यीबाहेक समाजवादीको विभिन्न जिम्मेवारीमा रहेका थुप्रै नेताले दशौं महाधिवेशनअघि ०७८ चैतसम्मको सदस्यता नवीकरण गराएका छन् । वन मन्त्रालयका अधिकृत अजयविक्रम मानन्धर एकीकृत समाजवादीको केन्द्रीय वन तथा वातावरण विभागका सदस्य छन् । कृषिमा प्रथम श्रेणीका हाकिम नवीनप्रकाश पौडेल अर्कै नामबाट कृषि विभागमा छन् ।

विद्युतको छैठौं तहका अधिकृत भूमिनन्दन अर्याल जलस्रोत विभागमा बिएन अर्याल नाम राखेर, कृषिकै गोकर्ण आचार्य कृषि तथा भूमि व्यवस्था विभागमा, सिटिइभिटीका पूर्वसदस्य सचिव डा.रामहरि लामिछाने केन्द्रीय उद्यमशीलता विकास विभागमा छन् । केन्द्रीय सदस्य रहेका टहल खड्का उपत्यका पेशागत जिल्लाका इञ्चार्ज छन्, सदस्यताचाहिँ एमालेमा छ ।

कर्मचारीतिरबाट भोला पोखरेल पार्टी केन्द्रीय सदस्य भएका छन्, नरेश्वर ज्ञवाली अनुशासन आयोगमा बसेका छन् भने नेपाल टेलिकमका कर्मचारी नेता कृष्णमान श्रेष्ठ, दीर्घ ढुंगाना, कुमार ढकाल, अमेरिकाबाट चैत अन्तिममा नेपाल फर्कने डा. नकुल बानियाँ, कर्मचारी क्षेत्रमा एमालेलाई स्थापित गर्ने प्रमोद शर्मा र सीताराम नेपाल पनि समाजवादीतिरै खुलेका छन् । अर्का कर्मचारी नेता मोहन आचार्य द्रोणाचार्य नाम राखेर केन्द्रमा छन् ।

एमाले नेताहरु भन्छन्– ए बाबा, लभ नै परेका केटाकेटीले त फेसबुकमा हामी गाँसियौं है भनेर फोटो पोष्ट गर्छन् भने यत्तिका बुद्धिजीवीहरुले चाहिँ अब हाम्रो सामिप्यता समाजवादीतिर, एमालेमा छैनौं है भनिदिए हुन्न ! को, कता भनेर हामीले कसरी छुट्याउने ! किन यति साह्रो दुःख दिएको हामीलाई !

टिप्पणीहरू