जनयुद्धमाथि सत्तोसराप र मणि, बादलहरूको मौनता

जनयुद्धमाथि सत्तोसराप र मणि, बादलहरूको मौनता

१० वर्षसम्म जनयुद्ध लडेकाहरूको वर्तमान हालत सबैलाई थाहा छ । केहीलाई फलिपाप, धेरैलाई पश्चाताप भए पनि युद्धका कारण देशमा आएको परिवर्तन र युद्धले जगाएको जागरणप्रति जनता सचेत छन्, जानकार छन् । युद्धका कारण उत्पन्न पारिवारिक सामाजिक परिबन्दको एउटा दृश्यलाई कलाकारले शब्द, संगीत र नाटकीय रूपमा उतार्दा माओवादीका केही व्यक्ति रुष्ट देखिए । उनीहरूको आक्रोश, धम्की वा सर्जकको पुनर्विचारका कारण जे भनौँ पीर गीतको भिडियो केही परिमार्जित भएर आयो । कला र सिर्जनालाई त्यही रूपमा आत्मसात् गर्नुपर्छ जुन काल्पनिक अनि केही घटनाप्रधान हुन्छ भन्ने मेरो बुझाइ छ ।

अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी तितरवितर छ । शीर्ष तहमा रहेका कतिपय नेता अहिले कोही फरक फरक पार्टी खोल्ने, कोही अन्य पार्टीमा पस्ने खेलमा छन् । नेकपा रहँदाकोे उथलपुथलका बीचबाट पूर्ववत् अवस्थामा फर्केका कोही एमाले, माओवादीमा छन्, कोही माओवादी छाडेर एमाले भएका छन् । माओवादी कित्ता छाडेर केपी ओलीको नेतृत्वमै रहन तयार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, नेता टोपबहादुर रायमाझी, प्रभू साह, लेखराज भट्ट, मणि थापालगायत बलिया नेता अहिले ‘सांसदसहितको लास’ बनेका देखिन्छन् ।

एमालेमा समाहित भए पनि ती नेताको पृष्ठभूमि युद्ध र त्यसबाट उदाएको पार्टी माओवादी नै हो । जनयुद्धलाई सर्वस्वीकार्य मानेर माओवादी राजनीतिमा हेलिएका ती नेता आफ्नै धरातललाई अहिले कसैले गिज्याउँदा, सराप्दा र धारेहात लगाउँदा गमक्क पर्छन्, खुसुखुसु मुस्कुराउँछन् र प्रतिवाद गर्न सक्दैनन् भने उनीहरूको त्यो मौनता र मुस्कान एउटा सर्जकको सिर्जनामा देखाइएको यौन व्यवसायको दृश्यभन्दा पनि भयंकर छ, डरलाग्दो र लाजमर्दाे छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रायः दोस्रो व्यक्ति, पंक्ति र पक्षलाई खसालेर, गिराएर आफूलाई पानीमाथिको ओभानो बनाउन माहिर छन् । व्यक्ति हत्या आरोपमा १४ वर्ष जेल बसेका स्वयं ओली परिवर्तनका खातिर देशमा चलेको सशस्त्र युद्ध र त्यसबाट प्राप्त उपलब्धिलाई बेला बेला सराप्छन् । देशका लागि मरेका हजारौँ शहीदको अत्यन्त निम्नस्तरमा झरेर अपमान गर्छन्, तमाम घाइते र अपांगलाई मरेको भए के जान्थ्यो र भन्दै अलाप्छन् ।

विडम्बना, त्यही माओवादी आन्दोलनको आडमा शहीदहरूको रगतले लेखेको इतिहास र घाइते अपांग र बेपत्ता सहयोद्धाको योगदानबाट राजनीतिको भ¥याङ उक्लिएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र मणि थापाहरू ओलीको बोलीमा लोली मिलाउँछन् । उनीहरूलाई किञ्चित पनि आफ्नो कर्मप्रति कुनै धर्म छैन । आफ्नो कर्मप्रति उठेका प्रश्नमा उनीहरू यसरी मौन बस्छन् मानौँ कि भयंकर पापको लेदो पखालेर भर्खर एमालेमा गएका छन् र त्यहाँ दूधले नुहाउँदै छन् ।

एमाले स्थायी कमिटी बैठक वा केन्द्रीय समिति बैठकमा प्रायः ओली एकोहोरो बोलिरहन्छन् । आदेश दिन्छन् र बैठक टुंग्याउँछन् । बोल्ने क्रममा जनयुद्ध, प्रचण्डलाई मात्र गाली गर्दैनन् । युद्धका सबै पाटा र पक्षलाई सराप्छन् । बैठकमा सहभागी एक जना एमाले नेता भन्छन्, ‘ओलीले जनयुद्ध र माओवादी आन्दोलनलाई गाली गर्दा बादल, टोपबहादुर, मणिहरू चुपचाप ओलीको अघिपछि गर्नुहुन्छ । मलाई मेरो विगतको कर्ममा कसैले प्रश्न उठाए ठाडै प्रतिकार गर्थें । उहाँहरू हाँस्नुहुन्छ । हो मा हो मिलाउनुहुन्छ ।’

यहाँनेर बादलहरू चुप बसेर १० वर्षसम्म चलेको जनयुद्ध र माओवादी आन्दोलनलाई नाजायज भनिरहेका छन् । बादल, मणिहरू आफ्नो कर्मप्रति यति धेरै रुग्ण भइसके कि आफ्नो विगतप्रति अरू कसैले भद्दा मजाक गरिरहँदा प्रतिक्रियाविहीन भैदिन्छन् । यस्तो हुनुमा केही कारण छन्, उनीहरूले युद्धलाई पनि आफ्नो व्यक्तिगत स्वार्थका लागि प्रयोग गरेका थिए । अर्को उनीहरू कम्युनिष्ट वा क्रान्तिकारी थिएनन् । जसले युद्धमा बन्दुकको नालअगाडि निहत्था जनतालाई तेस्र्याएर आफू भागे र युद्धलाई नै बदनाम गरे ।

उनीहरू माओ त्सेतुङ वा लेनिनको नाम जपेर कम्युनिष्टको धज्जी उडाउन उद्यत छन् । माओवादको बदनाम गरिरहेका छन् । उनीहरू स्वार्थले माओवादी आन्दोलनमा जोडिए । स्वार्थले नै माओवादी खेमाबाट अलग्गिए र स्वार्थले नै माओवादी आन्दोलनलाई कटाक्ष गर्दा ताली बजाइरहेछन् । यस्तो युद्धमा मारिएकाहरूको रगतको होलीमा उनीहरू उत्सव मनाइरहेछन् । बादलहरूलाई एक दिन उनै शहीदका रगतले पोल्नेछ । परिवर्तनका लागि लडेकाहरू बादलविरुद्ध लड्न कत्ति बेर नलाग्न सक्छ । युद्धबारे जनता दिग्भ्रमित गराउन खोज्ने ओली र ओलीका प्यारा पछौटे बादलहरूलाई हेक्का रहोस्;

आगोको झिल्को नबलेको कहाँ छ र ?

माओवादी आन्दोलन नचलेको कहाँ छ र ?

टिप्पणीहरू