छापामार शैलीमा अर्थमन्त्रीको काेलकाता घुमघाम
अर्थमन्त्री जनार्दन शर्मा छापामार शैलीमा निर्वाचनको बेला भारतको व्यापारिक केन्द्र काेलकाता पुगेर फर्कनुभएको छ । प्रधानमन्त्री तीन दिने औपचारिक भ्रमणमा राजधानी नयाँ दिल्ली पुगेको बखत अर्थमन्त्री तथा माओवादी नेता शर्मा भारतको पुरानो राजधानी काेलकाता पुग्नुभएको हो ।
प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानमा नयाँ दिल्ली जानुभएको थियो भने शर्मा एअर इण्डियाको उडान AI 247 बाट दिउँसो डेढ बजे फर्कनुभएको हो । उहाँ किन जानुभयो र हिजै प्रधानमन्त्रीभन्दा केही घण्टाअगाडि स्वदेश फर्कनुभयो भन्नेबारे कसैले पनि बताउन चाहेनन् ।
क्याबिनेट मन्त्रीले औपचारिक वा अनौपचारिक रुपमा मुलुक बाहिर जाँदा राज्य सञ्चालनको पद्दति पालना गर्नैपर्ने हुन्छ । उक्त पालना संवैधानिक मूल्य र मान्यताभित्र पर्छ । तर अर्थमन्त्री शर्मा बिदेश जाँदा प्रधानमन्त्रीको सिफारिसमा अर्को मन्त्रीलाई जिम्मेवारी दिइएको कुनै जानकारी राज्यले जनतालाई दिएको छैन ।
“अर्थसचिव प्रधानमन्त्रीसङ्ग नयाँ दिल्ली गएकै बेला अर्थमन्त्री पनि लुसुक्क कलकत्ता गएको बारे मन्त्रालयका अधिकांश अधिकारीहरुले अनभिज्ञता प्रकट गरेका छन् ।”
अर्थसचिव प्रधानमन्त्रीसङ्ग नयाँ दिल्ली गएकै बेला अर्थमन्त्री पनि लुसुक्क काेलकाता गएको बारे मन्त्रालयका अधिकांश अधिकारीहरुले अनभिज्ञता प्रकट गरेका छन् । जनआस्थाले मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाको फोन नम्बर ४२००५३७ मा सम्पर्क गर्दा कार्यकक्षमा नरहेको जानकारी पाइयो । सूचना अधिकारी कमलकुमार भट्टराईलाई फोन नम्बर ४२११३८१ मा सम्पर्क गरेर जिज्ञासा राख्दा उनले पनि अनभिज्ञता प्रकट गरेर मन्त्रीको निजी सचिवालयको फोन नम्बर दिए ।
मन्त्रीको निजी सचिवालयको फोन नम्बर ४२११४६१ र ४२११३९० मा पटक पटक सम्पर्क गर्दा फोन उठेन । त्यसैगरी मन्त्रीले हालै नियुक्त गरेका बैंकिङ सल्लाहकार तथा राष्ट्र बैंकका उपनिर्देशक शालिकराम पोखरेलको मोबाइल नम्बर ९८४१२२५३२० मा जनआस्था डट कमका सम्पादकले ९८५१०३८२३० बाट दुई पटक कल गर्दा उनले पनि उठाएनन् ।
कसैले पनि फोन नउठाएपछि अन्तमा मन्त्रीका प्रेस संयोजक अजित अधिकारीलाई ९८४९७१९९३७ नम्बरमा कल गरिएको थियो । उनले पनि ९८५१०३८२३० बाट गरिएको फोनको कुनै रेस्पोन्स गरेनन् ।
टिप्पणीहरू