बिमा रकम नपाएपछि निःशुल्क उपचार सेवा कटौती

बिमा रकम नपाएपछि निःशुल्क उपचार सेवा कटौती

पाल्पाको तानसेनस्थित युनाइटेड मिशन अस्पतालले स्वास्थ्य बीमा गराएका बिरामीको निःशुल्क उपचार नगर्ने निर्णय गरेको छ । स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी निःशुल्क उपचार थालेको अस्पतालले आजबाट निःशुल्क उपचार सेवा स्थगित गरेको हो ।

सरकारबाट बीमा वापतको रकम प्राप्त नभएकाले त्यस्ता बिरामीको निःशुल्क उपचार रोक्ने निर्णय गरिएको अस्पतालले जनाएको छ । लामो समयदेखि अस्पतालले बारम्बार ताकेता गर्दा पनि बोर्डले शोधभर्ना गरेको छैन ।

साथै, बिरामीको उपचारमा लाग्ने वास्तविक खर्च रकमको ठूलो हिस्सा शोधभर्ना नहुँदा अस्पतालको दैनिक सेवा सञ्चालनमा समेत प्रतिकूलस्थिति सिर्जना भएको अस्पतालले बताएको छ ।कर्मचारीलाई नियमित तलब खुवाउन, औषधि खरिद गर्न तथा अन्य प्रशासनिक कार्य गर्न नसकिने अवस्थामा अस्पताल प्रशासन पुगेको हो । यो विषयमा जिल्लाका सरोकारवालाहरूसँग पटक पटक छलफल गरिएको, बीमा बोर्डलाई पटक पटक ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य बीमा गरेका बिरामीको उपचारवापतको रकम बैशाख ५ गतेसम्म उपलब्ध नगराए ६ गतेदेखि बीमाको सेवा पूर्णरुपमा कटौती गर्ने चेतावनीसमेत दिइएको छ । ६८ वर्षअघि स्थापित मिसन अस्पताल पश्चिम नेपालको सबैभन्दा पुरानो अस्पताल हो । यो अस्पतालमा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा र रुपन्देहीबाट सर्वसाधारण सेवा लिन आउँछन् ।

टिप्पणीहरू