करिश्मा आएपछिको एमाले

करिश्मा आएपछिको एमाले

तराईका नेताहरू अहिले भकाभक एमाले पसिरहेका समाचार आइरहेको छ । तराईतिरका मेयर एमालेमा, सांसद एमालेमा, भूपूमन्त्री पनि एमालेमा । एमाले अब तराईमय पो बन्ने देखिँदैछ त ।

यो शायद करिश्मा मानन्धरको करिश्मा हुनुपर्छ । करिश्मा एमालेमा आएलगत्तै तराईतिरका कार्यकर्ताहरूको प्रवेश ह्वात्तै बढेको छ । कमरेड ओलीले तरिकाचाहिँ जान्नुभएकै हो । सुनिन्छ, अब राजेश हमाल पनि एमाले प्रवेश गर्दैछन् । पहिला भुवन केसी, अहिले राजेश हमाल

आएपछि महिला कार्यकर्ताको एमाले प्रवेशमा बढोत्तरी हुनेछ । हुन त अहिले रेखा थापा अर्को पार्टीतिर लाग्नुभएको छ । तर उहाँ त्यता बढी टिक्नु हुन्न । दर्शकै नभाको पार्टीमा को हिरोइन बस्छ ?

त्यसो त ल्याउनुपर्ने मनीषा कोइरालालाई पनि हो । तर एमालेमा कोइराला कोही पनि अट्दैन । अटेका कमल कोइराला पनि बूढेसकालमा घुँडा समात्दै घरी बाहिर, घरी भित्र गरिरहनुभएको छ । अन्ततः मनीषा कोइराला त्यहीं जानुहुनेछ जहाँ अन्य कोइरालाहरू हुनुहुन्छ । आएका हिरोइनहरू जति सबैलाई हुल्ने त्यही राष्ट्रिय सभामा हो । त्यसपछि कोरम नपुगेर राष्ट्रिय सभाको बैठक बस्न सकिएन भन्न नपर्ला । कि कसो ?

टिप्पणीहरू