पाकिस्तानमा अबको १२ घण्टामा महत्वपूर्ण राजनीतिक निर्णय हुने
एकाएक राजनीतिक तलरलता देखिएको पाकिस्तानमा आजको मध्यरातसम्म महत्वपूर्ण निर्णय हुने आकलन गरिएको छ । एकातिर सर्वोच्च अदालतमा विपक्षीहरुले हालेको संसद पुनर्स्थापनाको मुद्दा र अर्कोतिर राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीको निम्ति राति १२ बजेसम्म सर्वसम्मत नाम पेश गर्न दिएको समयसीमा घट्दो क्रममा छ ।
त्यहाँको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानको संसद विघटनको यसअघिको सिफारिसलाई उल्टाइसकेको भने छैन । संवैधानिक इजलासमा बहस गरेका र एमिकस क्युरीमा रहेका वकिलहरुले बहस सकेका छन् । उनीहरुले बहसमा स्टे अर्डर जारी गर्न माग गरेका हुन् ।
बहसमा प्रधानन्यायाधीश र इजलासका न्यायाधीशहरुले ‘सरकारले कुन पोलिसी लियो भन्ने कुरो अदालतले नहेर्ने,तर उसका निर्णयहरु संविधानतः पालना भएको छ वा छैन भन्ने मात्र हेरिने,’ बताएको इस्लामावादबाट प्राप्त समाचारमा जनाइएको छ । हिजोको इजलासले प्रधानमन्त्रीले संसदमा बहुमत गुमाएको छ वा छैन भन्ने चाहिँ अदालतले हेर्ने बताएपछि वकिलहरुले संसद पुनर्स्थापनाको सम्भावना बढेको बताएका हुन् ।
तर संसद पुनर्स्थापनाको आदेश नभइसकेकाले आज बेलुकीसम्म अदालतबाट थप निर्णय हुने सम्भावना रहेको समाचारमा उल्लेख छ । एकातिर प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेका छन् । राष्ट्रपतिले सिफारिसलाई अनुमोदन गरिदिएका छन् । सरकारले आगामी ९० दिनभित्र चुनाव गर्ने वचन दिएको छ ।
अर्कोतर्फ विपक्षी दलहरुले खानविरुद्ध अविश्वास प्रस्ताव राखेपछि सभामुखले प्रस्तावमाथि छलफल नै गराउन चाहेनन् । त्यहिबीचमा संसद विघटन गरियो । तर बहुमत सदस्यले अविश्वास प्रस्तावमा समर्थन गरेका कारण सेरेमोनियल राष्ट्रपतिले अस्ति चिठी लेखेर आज राति १२ बजेसम्म नयाँ प्रधानमन्त्रीको नाम पेश गर्न विपक्षी दलहरुको नाममा आग्रह गरेका हुन् । अहिले विपक्षी दलका नेता पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् ।
‘त्यहाँको राजनीति हेर्दा खान पनि हाम्रै ओलीजस्तै लाग्यो । गफ दिने,काम नगर्ने । खालि सपना बाँड्ने ।’
आज अदालतको संवैधानिक इजलासबाट थप आदेश आउन सक्ने अनुमान गरिएको छ । संभवतः यसअघि संसदमा प्रस्तुत अविश्वासको प्रस्तावमाथि छलफल गर्न आदेश दिनसक्ने सम्भावना बढी देखिएको विश्लेषकहरुले बताएका छन् । यसअघि प्रधानमन्त्री खानविरुद्ध एक सय ९७ जना सांसदले हस्ताक्षर गरेका छन् । जबकि एक सय ७२ जना सांसद भए बहुमत पुग्छ ।
एक अर्को प्रसंगमा विदेशी राष्ट्रको उक्साहटमा विपक्षी दलहरुले सरकार गिराउन खोजेको भन्ने प्रधानमन्त्रीको आरोपवारे अदालतले हालसम्म केही पनि बोलेको छैन । उसले ‘अदालतले संविधानको कुरो हेर्ने हो सरकारको कामकारबाही होइन भनेकाले संसद पुनर्स्थापना हुने सम्भावना बढेको हो । त्यसो भयो भने ९० दिनभित्र गर्ने भनिएको चुनाव रोकिन्छ,’ विदेशी समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
पाकिस्तानीहरुले भने इमरानले फेरि पनि जित्ने अनुमान लगाएका छन् । पाकिस्तानमा जसले धेरै अमेरिकाको विरोध गर्छ, उसको पक्षमा जनता ओइरिने भएकाले इमरानको पार्टीले पछिल्लो दिनमा अमेरिकाको चर्को विरोध गर्दै आएको छ । त्यसैले उनी पुनः निर्वाचनमा विजयी हुने अड्कल लगाइएको हो ।
यसअघि सेनाको रोल जतापट्टि हुन्छ,त्यो राजनीतिक दललाई चुनाव जित्न र सत्तामा टिक्न सजिलो हुने गरेको थियो । खानलाई पनि तीन वर्षअघि सेनाको चर्को समर्थन थियो । पछिल्लो दिनमा आइपुग्दा सेना अहिले सरकारका केही निर्णयप्रति पूर्ण सन्तुष्ट नभएको बताइन्छ । उसले आफूलाई सँधै ‘तटस्थ’ रहने बताउने गरेको छ । तर, पक्ष र विपक्षमा लागेको स्वतः देखिइहाल्ने गरेको छ । अहिले प्रधानमन्त्रीसँग सेना सन्तुष्ट नभएको विश्लेषण पनि छ ।
हुन तः खानसँग पहिले धेरै नागरिकको धेरै अपेक्षा थियो । चुनाव जित्नुअघि उनी सबैलाई गाली गर्थे । अमेरिका र पश्चिमा राष्ट्रको निकै आलोचना गर्थे । तर अहिले पनि काम नगर्ने, मुख मात्रै चलाउने भएपछि जनता आक्रोशित भएको विपक्षीहरुको आरोप छ । पाकिस्तानबाट फर्केका एक जना नेपाली विद्यार्थीले भने, ‘त्यहाँको राजनीति हेर्दा खान पनि हाम्रै ओलीजस्तै लाग्यो । गफ दिने,काम नगर्ने । खालि सपना बाँड्ने ।’
अहिले त्यहाँ पनि बजार भाउ बढेर आकाश छोएको छ । डेढ वर्षअघि एक लिटर दूधको मूल्य एक सय रुपैयाँ थियो । अहिले डेढ सय पुगेको छ । जनजीवन निकै कष्टकर हुँदै गएको विपक्षीहरुले आरोप लगाएका छन् । तर पनि खानले अमेरिकाको विरोध गरेपछि उनीहरुले त्यो कष्ट बिर्सन सक्ने डर विपक्षीहरुमा देखिन्छ ।
टिप्पणीहरू