एमाले महासचिव बहादुर भवनमा

एमाले महासचिव बहादुर भवनमा

नेकपा एमालेका महासचिव शंकर पोखरेल बहादुर भवनस्थित निर्वाचन आयोग कार्यालय गएका छन् । स्थानीय तह निर्वाचनसम्बन्धी आयोगका एकपछि अर्को निर्णयप्रति चर्को असन्तुष्टी जनाइरहेको एमालेका महासचिव त्यसको विरोध गर्न गएको बताइएको छ ।

यसअघि एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले महासचिव पोखरेल दिउँसो १ बजे आयोगमा जान लागेको बताएका थिए ।

आयोगले कानून विपरित् आचारसंहिता निर्माण गरेको एमालेले बारम्बार आरोप लगाइरहेको छ । मतपत्रको रङ फेर्ने,बहालवाला जनप्रतिनिधिले राजीनामा दिएरमात्रै उम्मेदवारी दिन पाउने, उम्मेदवारी मनोनयनका लागि दुई दिनको समय दिनेजस्ता आयोगको निर्णयलाई लिएर एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रुपमै विरोध गर्नुभएको थियो ।

यसैकारण आचारसंहिता पालना गर्ने विषयमा आयोगले अस्ति आयोजना गरेको बैठकमा एमाले प्रतिनिधि रमेश बडाल हस्ताक्षर नै नगरी बाहिरिएका थिए ।

यद्यपि आयोगले भने भोलिदेखि आचारसंहिता जारी गर्न लागेको छ । त्यसअघि आफ्ना कुरा सुनाउन र आयोगको निर्णयमा विमती प्रकट गर्न पोखरेल बहादुर भवन गएका हुन् ।

टिप्पणीहरू