ओलीद्वारा आफैभित्रका आलोचक वकिलहरुमाथि आक्रमण
चैत १४ गते सोमबार सिंहदरबारको पश्चिम ढोका नजिकै,उपत्यका ट्राफिक कार्यालयसँगै जोडिएको स्काइ ब्याङ्क्वेटमा कालो कोट लगाएका वकिलहरुको बाक्लै भीड थियो । प्रयोजन थियो-एमालेनिकट वकिलहरुको संगठन पीपीएलएको सम्मेलन ।
उद्घाटन समारोहको प्रमुख अतिथि हुनुहुन्थ्यो,एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । मञ्चमा एमालेका अरु नेता पनि थिए । प्रतिनिधि,पर्यवेक्षकमध्ये वरिष्ठतम कानुन व्यवसायीहरु अघिल्लो लहरमा थिए जसमा बारका भूतपूर्व उपाध्यक्ष तथा अधिवक्ता टिकाराम भट्टराई छुट्ने कुरै भएन ।
पालैसँग अतिथिहरुलाई बोल्न बोलाइयो । अन्तिममा प्रमुख अतिथि ओलीलाई आयोजकले अनुरोध गरे । उहाँले झण्डै डेढ घण्टादेखि मञ्चबाट सहभागीहरुलाई छानीछानी हेरिरहनुभएको थियो । जब बोल्ने पालो आयो अनि धुँवाधार आफ्नो सरकार हुँदाको घटनाक्रमलाई कालोकोटसँग जोड्न थाल्नुभयो ।
‘प्रतिनिधिसभा विघटन गरेर जनतामा जाँदा संविधान विपरित देख्ने ? प्रतिगमन देख्ने ? ती सबै आँखामा फुलो परेकाहरु हुन् । यस्ता फुलो परेकालाई मैले देखिरहेको छु । यस्तालाई जिम्मेवारी दिने बेलामा तपाईंहरुले १० चोटी सोच्नुहोला ।’
उहाँको भनाइ थियो, ‘प्रतिनिधिसभा विघटन गरेर जनतामा जाँदा संविधान विपरित देख्ने ? प्रतिगमन देख्ने ? ती सबै आँखामा फुलो परेकाहरु हुन् । यस्ता फुलो परेकालाई मैले देखिरहेको छु । यस्तालाई जिम्मेवारी दिने बेलामा तपाईंहरुले १० चोटी सोच्नुहोला ।’ उहाँले त्यसो भनेपछि हल पूरै हाँसो र तालीले गुञ्जियो ।
उक्त चेतावनी एमालेमा छँदा १० बुँदेको समर्थन गर्ने,संसद विघटन गर्दा विपक्षमा बहस गर्ने वकिलहरुप्रति लक्षित थियो । त्यसको पहिलो निशाना उहाँले भट्टराईलाई बनाउनुभएको अड्कल लगाउन कसैलाई गाह्रो नभएको सहभागीहरुले त्यतिबेलै लगाएका थिए ।
किनभने अघिल्लो वर्ष पहिलो पटक प्रतिनिधिसभा भंग गर्न गरिएको ओलीको सिफारिसलाई सर्वोच्च अदालतले उल्टाइदिएको साँझ चितवनमा लड्डु वितरण गरिएको थियो । तत्कालीन नेकपाको एउटा कार्यक्रममा सहभागी हुन माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड त्यहाँ पुग्नुभएको थियो । उहाँहरुसँगै उक्त हलमा भट्टराई पनि हुनुहुन्थ्यो । दाहाल र नेपालसँगै लड्डु खाने र खुवाउने उनै भट्टराई भएको देख्नुभएका ओलीले त्यो दिन चितवनको रिस फेर्नुभएको हो । त्यसैगरी टिकाराम प्रतिनिधिसभा ब्युँताउन हिँडेका अर्थात ओलीको कदम मन नपराउनेमध्येका भन्ने एमाले बृत्तमा चर्चा थियो ।
उक्त सम्मेलनले पछि अधिवक्ता भोजराज आचार्यलाई अध्यक्ष बनायो । रोल्पाली आचार्य एमालेमा छँदा पहिले माधव नेपाल र वामदेवको मान्छेको रुपमा परिचित हुनुहुन्थ्यो । अध्यक्ष ओलीको त्यो दिनको शव्द बाणले एमालेमा रहेका १० बुँदे पक्षधरहरुलाई अहिले त्यहाँ गएर ‘न बसी सुख,न उठी सुख’ भएको प्रष्ट हुँदै गएको छ । किनभने सम्मेलनमा पीपीएलएका १० बुँदे र माधव नेपाल निकट भनिएकामध्ये एकाधबाहेक कसैलाई पनि ठाउँ दिइएन ।
एमाले संस्थापन पक्षको पारा देखेपछि कमल मलेगोले विद्रोह गर्दै उम्मेदवारी हाल्नुभयो । जबकि उहाँ एमालेको पीपीएलए र माओवादीसहितको नेकपा हुँदा एनएलएमा पनि उपाध्यक्ष हुनुहुन्थ्यो । मलेगो भूतपूर्व वरिष्ठ पत्रकार स्वर्गीय गोविन्द वियोगीका ज्वाईं हुनुहुन्छ । सम्मेलनपछि ओलीलाई सम्बोधन गरेर उहाँले राजीनामा नै बुझाई नेपाल बारमा बागी उठ्नुभएको छ ।
एमाले पार्टी ब्रेक भएपछि लतारिएर जो ओलीतिर बसे ती सबैलाई अहिले एउटै घानमा हालिएको बताइन्छ । त्यहाँ गत वर्ष प्रतिनिधिसभा विघटन गलत थियो भन्ने,माधव नेपाल वा झलनाथ खनालको स्कुलिङभित्र हुर्केका र उक्त समूहसँग नजिक रहेकालाई एउटा कोड नाम दिइएको छ । ‘फटाहा’ कोड प्राप्त “भाइरस”हरु कसैलाई पनि कुनै स्थान दिइएको छैन ।
वकिलहरुमध्ये दूधमा परेको झिँगालाई टपक्क टिपेर फालेझैँ फालिएकामा कमल मलेगोसहित धेरैजना भएको बताउन थालिएको छ । ‘एमालेभित्र माधवको पक्षमा भन्दा पनि ओलीका कदमहरुको विपक्षमा वा उहाँका इच्छा विपरीतका आवाज उठाउने र गतिविधि गर्ने कसैलाई पनि बाँकी राखिएको छैन,’ सम्मेलनमा अवसर नपाएका एक जना कानुन व्यवसायीले बताए ।
उनको व्याख्यसअनुसार एमाले भित्रको पछिल्लो चालामाला हेर्दा एक जना उपाध्यक्ष सुरेन्द्र पाण्डेबाहेक अरुले टिकट पाउने सम्भावना क्षीण बन्दै गएको छ । बरु केही नसोचेका पूर्वमाओवादीहरुले पाउने उनको विश्लेषण छ । अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवालीलगायतलाई एउटै घानमा आउट गर्ने रणनीति बनाइएको बताइन्छ । तर ज्ञवालीले भने प्रतिनिधिसभा नभएर राष्ट्रिय सभा खोजेको उहाँ निकटस्थहरुको बुझाइ छ ।
टिप्पणीहरू