सुरुङभित्रको बैठकमा अध्यक्ष ओलीको निर्मम समीक्षा
आज चैत २७,शहीद रत्न बान्तवाको ७० औं जन्मजयन्ती तथा ४३ औं स्मृति दिवस !
ठीक एक वर्षअगाडि,आजैका दिन युवा संघ नेपालको पाँचथर जिल्ला युवा भेला सम्पन्न गरी इलामको बैठकतर्फ बिहान फर्कन लागेका थियौं । युवा संघ नेपालका अध्यक्ष कमरेड नरेश शाहीले इलाम सदरमुकाममा हुन लागेको बैठक शहीद रत्नको घरमा गर्न उपयुक्त हुने सुझाव दिनुभयो । मैले संघका केन्द्रीय उपाध्यक्ष कमरेड मुना शर्मा, कमरेड भाइचुंग लामा (इलाम इञ्चार्ज) र कमरेड महेश तिवारी (जिल्ला अध्यक्ष) सँग सम्पर्क, छलफल गरी चित्रे गाउँस्थित शहीद रत्नको घरमा बैठक गर्ने निधो भयो ।
सोहीबमोजिम सबै साथीहरुलाई सर्कुलर गर्यौ । यात्राका क्रममा कमरेड प्रत्युष राना र भाइचुंग लामाले कहिले शहीदहरुको बारेमा त कहिले कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थाको बारेमा धेरै कुरा कमरेड नरेश शाहीलाई सुनाई रहनुभएको थियो । तर मेरो मन भने कता– कता विचलित र बेचैन भइ रहेको थियो । करिब सवा २ घण्टापछि फिदिम,राँके,रक्से हुँदै चित्रे गाउँस्थित शहीद रत्नको घरमा पुग्यौं । हामीभन्दा अगाडि नै एमाले इलामको पटक पटक नेतृत्व गरी सक्नु भएका पूर्व सांसद,कमरेड मणि लिम्बु पुगिसक्नु भएको थियो ।
हामीले अभिवादन गर्यौँ । कमरेड नरेश र मणिबीच शहीद रत्नका बारेमा अनौपचारिक सम्वादहरु भए । इलामका विभिन्न ठाउँबाट साथीहरु आउने क्रम जारी थियो । कमरेड मुना शर्मा,कमरेड निर्भिक खनाल,कमरेड रमेश बोखिमलगायत हामीहरु एकोहोरो सुनिरहेका थियौं । स्थानीय केही युवा साथीसहित कमरेड महेश बान्तवा (शहीद रत्नको भाइ) आइ पुग्नुभयो । महेश बान्तवा सम्बन्धले कोपा (हजुरबा) पर्ने भएकाले धेरै वर्ष पछिको भेटमा सम्बन्धलाई नवीकरण गर्यौं ।
कमरेड महेश बान्तवाले नेकपाभित्रको समस्या र पार्टी नेताहरुको कार्यशैलीबारे दुःख प्रकट गर्दै शहीद रत्नको घरको ढोकाको ताल्चा खोलि दिनुभयो । हामी घरभित्र प्रवेश गर्यौं । त्यसपछि रत्नले खनेको सुरुंगभित्र प्रवेश गर्यौं । सुरुङभित्रको बैठक कक्ष हेर्यौं । हुन त सुरुङ अवलोकन भने मेरो तेस्रो पटक हो । सुरुङ असाधारण त छँदैछ । त्यो निरंकुश पञ्चायतकालीन समयमा रत्नको अद्भुत साहस र क्रान्तिकारिताको जति व्याख्या गरे पनि कम हुन्छ ।
फेरि कमरेड नरेश शाहीले कमरेड महेश बान्तवासँग सम्वाद गर्न थाल्नु भयो । हामीले जिज्ञासा राख्न थाल्यौं । कमरेड महेश बान्तवाले शहीद रत्न चैत २७ गते जन्मनु भएको र २७ वर्षको उमेरमा चैत २७ गते नै क्रान्तिमा जीवन बलिदान गरेको कुरा भावुक हुँदै बताउनुभयो । सिंगो चित्रे गाउँ र गाउँलेले असाध्यै दुःख र पीडा पाएको भक्कानिँदै भन्नु भयो ।
मेरो मन मस्तिष्कका क्यानभासमा दुम्सीका काँडाहरुले घोच्न थाल्यो–२७ वर्षे रत्न,त्यो चित्रे गाउँ, रत्नका सहयोध्दाहरु र परिवारका सदस्यलाई निरंकुश पञ्चायती शासनका पक्षधरहरुले दिएको पीडा र बर्बर यातनाले थिलथिलो परेका ज्यानहरुको अघिल्तिर टल्किरहेको समानता र न्यायका ओजस्वी दीपहरु भने अवश्य बलिरहेका थिए । तर त्यो चित्रे गाउँ अझै उजाड र पट्यारलाग्दो छ । व्यवस्था र अवस्था फेरियो तर सास फेर्न सकिएन भनेजस्तै गैर कम्युनिष्टहरुको विजय र राज अझै छ ।
कमरेड मणि लिम्बु र महेश बान्तवाले हाम्रा जिज्ञासाका उत्तरहरु दिइरहनु भएको थियो । इलामका विभिन्न ठाउँहरुबाट कमिटीका अधिकांश साथीहरु आइरहनु भएको थियो । शहीद रत्नको घर प्रांगणमा रहेको रत्न स्मृति प्रतिष्ठानको हलमा बैठक शुरु भयो । कमरेड नरेश शाही,कमरेड मणि लिम्बु,कमरेड मुना शर्मा र मैले नेकपाभित्रको संकटबारे चर्चा गर्दै,उपस्थित सम्पूर्ण साथीहरुले महान शहीद रत्न बान्तवाप्रति श्रद्धासुमन अर्पण गर्यौं । नेपालको सिंगो कम्युनिष्ट आन्दोलन दक्षिणपन्थ अवसरवादबाट ग्रसित थियो । नेकपा दुई टुक्रा (एमाले धारा र माओवादी धारा) मा विभक्त भइसकेको थियो भने केपी ओली एमालेलाई व्यवस्थित नगरेर नेकपा फुटको खरानीमा धुलो उडाउँदै हुनुहुन्थ्यो ।
इलामे लाल युवाहरु क्रान्तिकारी भूमिका चलिरहेको बैठकमा घनिभूत छलफलमा थिए । दिनभर चलेको बैठकमा तत्कालीन पार्टी नेतृत्व केपी ओलीको दम्भ,अहंकार र स्वेच्छाचारी व्यवहारका कारण सिंगो आन्दोलन संकटमा परेको, संविधानमाथि बलजफ्ती दुई पटक बलजफ्ती गरेको विषय उठेको थियो । उनै ओलीले दुई तिहाइ नजिकको संसद भंग गर्ने कदम दक्षिणपन्थ अवसरवादबाट ग्रसित रहेको ठहर गर्दै महान शहीद रत्न बान्तवा,बम बान्तवाजस्ता शहीदहरुको घोर अपमान र शहीद परिवारको चीरहरण भएका कारण क्रन्तिकारी पार्टी र संगठनले मात्र समाजवादी क्रान्ति सम्पन्न गर्न सक्दछ भन्ने निश्कर्ष निकालियो । त्यसपछि हामी सबैले शीर झुकाएर सम्मानकासाथ शहीद रत्न बान्तवा र बम बान्तवाको शालिकमा माल्यार्पण गरी बैठक सम्पन्न भएको थियो ।
सन्ध्याकालीन बादलका घुम्टोहरुले शहीद रत्नको शालिकलाई ढाकिरहेको थियो । हामी हाम्रा गन्तव्यतर्फ लाग्न थाल्यौं । शहीद रत्नको घर र सुरुङभित्र पस्दा पक्कै पनि सबैलाई कुनै पावन स्थलमा पसे जस्तो अनुभव झैँ हामीलाई पनि भयो । मानौं त्यहाँभित्र प्रवेश गर्दा सबैलाई कुनै शक्तिपीठको यात्रा गरे जस्तो अनुभव भएको हो । शहीद रत्न बान्तवा क्रान्तिकारीहरुका लागि प्रेरणापुञ्ज हो । कमरेड रत्नले बनाएका इतिहासलाई जोडेर एउटा नयाँ इतिहास कोर्ने जिम्मा वर्तमानले हामी युवाहरुलाई दिएको छ । फेरि पनि महान शहीद रत्न बान्तवाप्रति भावपूर्ण श्रध्दान्जली !
-सन्जीप राई
(लेखक युवा संघ नेपालका उपमहासचिव तथा प्रवक्ता हुन् )
टिप्पणीहरू