बालुवाटारमा फेरी भाखा सर्यो
सत्तारुढ गठबन्धनले चुनावी तालमेलको मोडालिटी र उम्मेदवार चयनबारे निर्णय लिन आगामी आइतबारसम्मको समय थप गरेको छ ।
आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले बैशाख ४ गतेसम्म स्थानीय तहमा दलगत अवस्थाको यकिन विवरण पठाउन मातहतका संयन्त्रलाई समय थपिदिएको हो ।
यसअघि चैत २७ गतेका लागि तोकिएको समय भोलिसम्मका लागि थप गरिएको थियो । तर, स्थानीयस्तरमा गठबन्धन दलभित्र तालमेललाई लिएर तीव्र असन्तुष्टि बढेपछि अरु समय थपिएको हो । जिल्लास्तरीय संयन्त्रबाट स्थानीय अवस्थाको रिपोर्ट प्राप्त नहुँदा गठबन्धनले तालमेलको मोडालिटी बनाउन सकेको छैन ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई, सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतको उपस्थितिमा स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्नेबारे सत्ता गठबन्धनको बैठक आज साँझ ५ बजेदेखि साढे दुई घण्टा भएको हो ।
टिप्पणीहरू