सानो जिल्लामा पनि पुरुषभन्दा महिला मतदाता बढी

सानो जिल्लामा पनि पुरुषभन्दा महिला मतदाता बढी

आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा भक्तपुरका चारवटा नगरपालिकाबाट एक लाख ८९ हजार पाँचसय ८४ जना मतदाता सहभागी हुँदै छन् । मुलुककै सबैभन्दा सानो जिल्लामा पुरुषभन्दा महिला मतदाता बढी पाइएको छ ।

यस पटकको स्थानीय चुनावमा ९७ हजार तीनसय १४ महिला मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । त्यसैगरी, ९२ हजार दुईसय ६५ पुरुष र पाँच जना तेस्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीका अनुसार भक्तपुर नगरपालिकामा २९ हजार ६ सय १४ महिला र २७ हजार ६ सय ५६ पुरुष गरेर ५७ हजार दुई सय ७० मतदाता छन् ।

२२ हजार सात महिला र २१ हजार ९८ पुरुषसहित चाँगुनारायण नगरपालिकामा ४३ हजार एक सय पाँच मतदाता छन् । त्यसैगरी, सूर्यविनायक नगरपालिकामा २४ हजार तीन सय ८५ महिला छन् भने २२ हजार नौसय ८० पुरुष र दुई जना तेस्रो लिङ्गी गरेर ४७ हजार तीनसय ६७ मतदाताले आगामी निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

यता, मध्यपुरथिमी नगरपालिकामा ४१ हजार आठ सय ४२ मतदाता छन् । २१ हजार तीन सय आठ महिला, २० हजार पाँच सय पुरुष र तीन जना तेस्रो लिङ्गीले चुनावमा मतदान गर्न पाउने बताइएको छ ।

मतदानस्थल र केन्द्र कति छन् ?

निर्वाचन कार्यालयले भक्तपुरमा कूल ७७ मतदानस्थल र दुई सय १९ मतदान केन्द्र निर्धारण गरेको छ । तीमध्ये भक्तपुर नगरपालिकामा १६ मतदानस्थल र ६२ वटा मतदान केन्द्र छन् ।

चाँगुनारायण नगरपालिकामा २१ मतदानस्थल र ५३ वटा मतदान केन्द्र, सूर्यविनायक नगरपालिकामा २३ मतदानस्थल र ५८ वटा मतदान केन्द्र तथा मध्यपुरथिमि नगरपालिकामा १७ मतदानस्थल र ४६ वटा मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू