गभर्नर अदालत पुगे, राष्ट्र बैंकका कर्मचारी आन्दोलित
नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी कानुनी लडाईंका लागि सर्वोच्च अदालत पुगेका छन् । आफूमाथिको निलम्बनको निर्णय बदर गर्न माग गर्दै उनका तर्फबाट वकिलहरुले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
रिटमा अधिकारीले आफूमाथिको कारवाही गैरकानुनी रहेकाले बदर गर्न र गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गरेका छन् ।यता, अधिकारीको कारवाहीविरुद्ध नेपाल राष्ट्र बैंकका कर्मचारी आन्दोलित भएका छन् । एमाले समर्थित कर्मचारी संघले प्रधानमन्त्री निवाससँगै जोडिएको राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा कालो ब्यानर टाँगेर विरोध गरेका हुन् ।
गभर्नर अधिकारीको निलम्बनको विरोधमा कर्मचारीहरुले बालुवाटारसहित सबै कार्यालयमा एकैसाथ कालो ब्यानर राखेका हुन् । ब्यानरमा ‘केन्द्रीय बैंकको स्वायत्ततामाथिको नाङ्गो हस्तक्षेप बन्द गर’, निराधार तथा कपोलकल्पित आरोपमा गभर्नरमाथि शुरु गरिएको कारवाही प्रक्रिया अबिलम्ब फिर्ता गर’, संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि विशेष नीति तर्जुमा गरि कार्यान्वयन गर’, नारा लेखिएको छ । युनियनले गभर्नरको समर्थन र सरकारको निर्णयको बिरोधमा गभर्नर आउजाउ गर्ने मूल ढोकामा कालो तुल झुण्ड्याएको हो ।
संघले आज बिहान बैंक हातामा कोणसभा गरेर कालो तुल झुण्ड्याएको वरिष्ठ उपाध्यक्ष पदमप्रसाद जोशीले बताए । संघका अर्का एक जना पदाधिकारीका अनुसार गभर्नरले आफ्नै कार्यालय वरिपरिका ठूलाबडाले प्रधानमन्त्री र अर्थमन्त्रीसँग अनावश्यक र पदीय जिम्मेवारीभन्दा बाहिर गएर गाँसेको सम्बन्धले अहिलेको अवस्था उत्पन्न भएको बताएका छन् ।
गत चैत २५ गते सरकारले अधिकारीमाथि सरकारी सूचना चुहाएको, अर्थमन्त्रालयलाई असहयोग गरेको जस्ता आरोप लगाउँदै छानबिन गर्ने निर्णय गरेको थियो । क्याबिनेट बैठकले छानबिन गर्ने निर्णय गरेसँगै उनी निलम्बनमा परेका हुन् ।
टिप्पणीहरू