पदबिना गाह्रो हुन थाल्यो अचेल नेता,कार्यकर्तालाई
पोखरा महानगरमा मेयरको आकांक्षी व्यवस्थापनमा प्रमुख पार्टीहरुलाई सकस पर्ने देखिएको छ । एकल चुनावी मैदानमा होमिएको एमाले र गठबन्धनमा मेयर दाबी गरिरहेको कांग्रेसभित्र आकांक्षीको भीड बढेपछि यी दुई पार्टीलाई उम्मेदवार चयन गर्नै महाभारत आइलागेको हो ।
आन्तरिक प्रतिश्पर्धाबाट मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउने तयारीका साथ चुनावी प्रक्रिया थालेको एमाले महानगर कमिटीले केन्द्रको निर्देशनमा सबै आकांक्षीको नाम सिफारिस गरेको थियो । आकांक्षीहरुले तीन हजार शुल्क तिरेर मनोनयन दर्ता गरिसकेको अवस्थामा माथिबाट अर्कै निर्देशन आएपछि सबै (मेयरका १२ र उपमेयरका ९ जना) को नाम पठाइएको थियो।
सत्तारुढ नेपाली कांग्रेसमा मेयरको उम्मेदवारका लागि एमालेको भन्दा पनि धेरै डेढ दर्जन आकांक्षी खुलेका छन् । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा र यसअघि उपमेयरमा पराजित नेतृ सरस्वती गुरुङसहित १८ जनाले नाम टिपाएको कांग्रेसले जनाएको छ ।
यसबाहेक बाबुराम आचार्य, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, विश्वशंकर पालिखे, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपीला रानाभाट, विश्व घिमिरे, ऋषि सापकोटा र किरण केसीले नाम टिपाएका हुन् ।
उपमेयरमा १० जनाको मनोनयन परेको छ । लक्ष्मी पाण्डे, माया बराल क्षेत्री, रंगीला आचार्य, आनन्दी राणा कार्की, टिका कुमारी गुरुङ, दीपक महत, चिनु गुरुङ, गोविन्द नेपाली, शिव केसी, र मिलन थापाको नाम दर्ता भएको पार्टी सचिव गणेशबहादुर थापाले जानकारी दिए । कांग्रेस पोखराले मेयरका लागि २५ हजार र उपमेयरका लागि २० हजार स्वेच्छिक शुल्क लिएको थियो ।
केही दिनअघि मेयरको दाबी गर्न हुल बाँधेर काठमाडौँ आएको कास्की काँग्रेसको टोलीले सभापति शेरबहादुर देउवालाई भेटेको थियो । गठबन्धनमा एकीकृत समाजवादीले पोखराको मेयर पाउने चर्चा चलेका बेला नेतृत्वलाई खबरदारी गर्न काठमाडौँ आएका पोखरेली नेता-कार्यकर्तालाई देउवाले सर्वसम्मत उम्मेदवार सिफारिस गरेर देखाउन चुनौती दिनुभएको थियो ।
गठबन्धनको औचित्य र आवश्यकताबारे प्रस्ट्याउने क्रममा प्रधानमन्त्री देउवाले पोखरामा उम्मेदवारको हानथाप भैरहेकाले चुनाव जित्न गाह्रो हुनेतर्फ सचेत गराउनुभएको थियो । तर, देउवासँग भेटेर पोखरा फर्किएलगत्तै मेयरको उम्मेद्वारमा डेढ दर्जनले नाम टिपाएका हुन् ।
टिप्पणीहरू