रसिदको निम्ति ज्वाइँ राजदूतले पैसा तिरे, सांसदकी श्रीमती र छोरीको कसले तिर्ने ?

रसिदको निम्ति ज्वाइँ राजदूतले पैसा तिरे, सांसदकी श्रीमती र छोरीको कसले तिर्ने ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बहिनी र ज्वाईं तथा अष्ट्रेलियाको राजदूतमा हालै सिफारिस गरिएका कैलाश पोखरेल दम्पत्तिले नेपाल वायुसेवा निगमलाई ६९ हजार नौ सय २० रुपैयाँ तिरेका छन् । चैत १७ गते जनआस्था डट कममा ‘माधव नेपालको नाम बेचेर बहिनी,ज्वाईंको मोज’ शीर्षकको समाचार प्रकाशित भएको ३ दिनपछि निगमको मुख्य कार्यालय,न्यूरोड गेट पुगेर प्रस्तावित राजदूतकी श्रीमती बसुधा पोखरेलले ७० हजार बुझाएकी थिइन् ।

तर उनीहरुसँगै काठमाडौंबाट मुगु गएका त्यहाँका सांसद गोपाल बमकी श्रीमती र छोरीले भने आजका दिनसम्म निगमलाई सुको तिरेका छैनन् । पोखरेल दम्पति र बमकी छोरीसहित श्रीमती चैत ४ गते काठमाडौंबाट रुकुम हुँदै नेपालगञ्ज गएका हुन् । नेपाल वायुसेवा निगम स्रोतका अनुसार उक्त ट्वीनअटर विमानको चाँजोपाँजो मिलाउनेमा पोखरेलसँगै बम पनि थिए । उनले पटक पटक आफू माधव नेपालको पार्टीको प्रभावशाली सांसद भन्दै विमानलाई मुगु उडाउने गरेको रहस्य समेत स्रोतले खुलेको छ ।

उनीहरुले नेपाल वायुसेवा निगम र तालुक अड्डा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दबाब दिएर निगमको पूर्वी पहाडी भेगमा चार्टर र नियमित उडानको सेड्युलमा रहेको विमानलाई त्यस दिन रारा पुर्याएर ल्याउन लगाएका थिए ।

जनआस्थाको समाचारपछि अप्ठेरो पर्ने र राजदूत सिफारिश नै उल्टिने सम्भावना देखियो भन्दै पोखरेल दम्पत्तिले चैत तेस्रो साताको आइतबार निगमको मुख्यालयमा पुगेर उक्त रकम तिरेका हुन् । तर, निगमले पूर्वको विमानलाई पश्चिम लैजाँदा व्यहोर्नुपरेको क्षति झण्डै १० लाख रुपैयाँ बराबर रहेको बताइन्छ ।

‘डुबेको ७० हजार भए पनि जनआस्थाले उठाइदियो,त्यो हाम्रो लागि ठूलो उपलब्धि हो । आगामी दिनमा यस्तो प्रवृत्तिमा कमि आउने विश्वास गर्न सकिन्छ । जनआस्थाले लेखेको समाचारमा सतप्रतिशत सत्यता छ,’ निगमका एक जना विभागीय प्रमुखले त्यतिबेला भनेका थिए । अहिले सांसद बमका परिवारको ६९ हजार नौ सय २० रुपैयाँको हिसाब नमिलेर निगमका कर्मचारीलाई आपत परेको बताइन्छ ।

सांसदकी श्रीमती पुदादेवी बम हुन् भने छोरी दिपिन्दा बम हुन् । उनीहरुले भावी राजदूत दम्पत्तिलाई रारा घुमाइदिने जिम्मा लिएका थिए ।

टिप्पणीहरू