जाने राजदूतको देशैं काटकुट

जाने राजदूतको देशैं काटकुट

वर्तमान सरकारलाई ऐन, नियम, कानुन, योग्यता, मापदण्ड केही कुरा नचाहिने भएको छ । क्याबिनेटले गरेको राजदूत नियुक्तिको निर्णय मसी सुक्न नपाउँदै मन्त्री र मुख्यसचिवले अस्ति दिउँसो २ घण्टा सिंहदरबारमा बसेर कर्मचारी जाने देशै तलमाथि पारेपछि भद्रगोल देखिएको हो ।

स्रोतका अनुसार गत शुक्रबार ०५२ सालका शाखा अधिकृत तीर्थ वाग्लेलाई वरिष्ठ हुँदाहुँदै पनि म्यान्मार (बर्मा)का निम्ति राजदूत सिफारिश गरिएको थियो । तर, उनले त्यहाँ जान अस्वीकार गर्दै ससुरा गणेश ढकालसँग हारगुहार मागेपछि उनको देश परिवर्तन गरिएको छ । अब उनी म्यान्मारको बदला बहराइन जाने भएका छन् भने म्यान्मारमा हरिश्चन्द्र घिमिरेलाई पठाइँदै छ ।

यसअघि दिल्लीस्थित दूतावासमा पोलिटिकल काउन्सिलर रहेका वाग्लेले काम गरेर देखाउन पाऊँ भन्दै बंगलादेश मागेको स्रोतको दाबी छ । शेरबहादुर देउवा पहिला प्रधानमन्त्री भएको बेला उनका ससुरा गणेश ढकाल निजी सचिव थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को शासनकालमा ४ वर्षको निम्ति संयुक्त राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा काम गर्न गएका घनश्याम भण्डारीले २२ महिना नबित्दै ६ महिनाअघि फर्किएर दुबसु क्षेत्रीको जोडबलमा नजिकै बंगलादेश जाने मौका पाएका छन् । ढाका जान निर्मल काफ्ले पनि इच्छुक थिए ।

तर, घनश्यामले उम्केको माछा ठूलो भनेजस्तै साथीभाइसँग म त न्युयोर्क जान चाहेको त थिइनँ तर प्रदीप ज्ञवालीको आग्रहले गएको हुँ भन्ने गरेका छन् । त्यसबेला उनैले तत्कालीन परराष्ट्रमन्त्रीसँग जिल्लावासी हुनुका साथै एमाले समर्थकको नाता लगाएर नियुक्ति लिएको देखिजान्नेहरू परराष्ट्रमा छपक्कै छन् ।

उनले अखिलको राजनीति गर्दै तम्घासको रेसुंगा क्याम्पसमा काम गरेकोे बताएका थिए । अर्कोतर्फ परराष्ट्रका सहसचिवहरूलाई समयमै बढुवा नदिएका कारण कृष्णचन्द्र अर्यालहरूले राजदूत नबनिकन घर फिर्नुपरेको अवस्था छ । बंगलादेशबाट धनबहादुर ओली फर्किएको १८ महिनाभन्दा बढी भइसक्यो ।

दुर्गाबहादुर सुवेदी क्षेत्री (दुबसु) बेलायतमा झण्डै साढे चार वर्ष राजदूत बनेपछि पुनः जापानको लागि राजदूत नियुक्त भएका छन् । जापान नेपाली कूटनीतिक नियोगमा सबैभन्दा आकर्षक तलवमान भएको मुलुक हो । त्यहाँ कार्यरत राजदूतले ८ हजार डलर तलब थाप्न पाउँछन् । यो तलव अमेरिका, ब्रिटेन र फ्रान्सलगायत मुलुकको भन्दा बढी हो ।

तर, उनीभन्दा अगाडि ब्रसेल्सबाट फर्र्किएका लोकबहादुर थापालाई भने मापदण्ड लगाएर कतै पठाइएन । यसबाट वर्तमान सरकार पनि ‘मत्स्य न्याय’ मा सिपालु रहेको सावित भएको छ । दुबसु र निर्मल काफ्ले लोकसेवा आयोगबाट सहसचिवमा भिड्दाका एकै ब्याची हुन् । सहसचिव निर्मल पहिलोपल्ट अनकण्टार ब्राजिल जाँदै छन् भने क्षेत्रीचाहिँ रोजीछाडी बेलायतबाट फर्केको १ वर्ष नपुग्दै जापान जान लागेका छन् ।

राजनीतिक क्षेत्रबाट नियुक्ति पाउनेको नाम हेर्दा पनि यो सरकार राजदूत छान्न गम्भीर भएको देखिँदैन । कैलाश पोखरेल र प्रा.डा. युवराज संग्रौलाबीचको योगदानलाई तुलना गर्दा संग्रौला भारी देखिए पनि अष्ट्रेलियामा लक्की शेर्पाको पालाबाट शुरु भई निर्माणाधीन राजदूतावास भवनको काम सक्ने जिम्मा पोखरेलले लिएका छन् । राजदूत छनोट प्रक्रिया शुरु हुनेबित्तिकै ५ महिनाअघि नै पोखरेलको नाम र देश तय भएको हो ।

त्यसैगरी, कतारका लागि नरेशविक्रम ढकाल नियुक्त भएका छन् । उनी पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काको सपोर्टले गर्दा राजदूत भएको चर्चा छ । मीनेन्द्र रिजालको अनुरोधमा शशांक कोइरालाले कान्ता रिजाल, साउदी अरेबियामा श्रम सहचारी रहिसकेका कृष्ण दवाडीकी श्रीमतीलाई पारेका छन्, जो प्रोफाइलमा रहेकी र विवादमा नपरेकी पूर्व नेविसंंघ कार्यकर्ता हुन् ।

यसचोटि परराष्ट्र मन्त्रालयमा कार्यरत ८ जना सहसचिव राजदूत बनेका छन् । परराष्ट्र प्रवक्ता सेवा लम्सालको कार्यकाल ३ वर्ष बाँकी छ भने प्रकाश सुवेदी असार पहिलो हप्ता रिटायर्ड हुनेछन् । खुला प्रतिस्पर्धाबाट आएका र ०७१ ताका वरिष्ठता र मन्त्रालयमा बसेका सहसचिवहरूलाई राजदूतमा नियुक्त गर्ने चलन थियो ।

कालीप्रसाद पोखरेल क्यानाडा र यज्ञ हमाल खाडीबाट फर्केपछि पुनः राजदूत बनाउनुहुँदैन भनेर विरोध गर्ने यिनै दुबसु क्षेत्री थिए । तर उनले आफैँ अगुवाइ गरेर बनाएको ‘विशिष्ट र प्रथम श्रेणीका कर्मचारीमध्येबाट राजदूत बनाइनेछ’ भन्ने निर्देशिकाको प्रावधानलाई कागजको खोस्टा बनाइदिएको आरोप छ ।

टिप्पणीहरू