पाँच करोड भोलि फर्किएला त कमरेड !

पाँच करोड भोलि फर्किएला त कमरेड !

जनताको मुक्तिका लागि आवश्यक परे हतियार उठाउँछाैँ भनी हिँड्ने कामरेडहरूले राजधानीस्थित अन्नपूर्ण होटलकी साहुनी श्रृजना राणाबाट उठाएको ५ करोड रकम फिर्ता गर्नुपर्ने भाका एक दिन मात्र बाँकी छ । अनियमितता गरिएको भनिएको सो रकम फर्काउन चैत मसान्तको अवधि तोकिएको थियो ।

विप्लवको पार्टीले आफूभित्रको आर्थिक अनुशासनहिनता र अनियमिततालाई लिएर अस्ति मात्रै एक विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा यस्ता गडबडीमा जोडिएका कतिपय नेता कामरेडहरूको नाम उल्लेख नभए पनि अन्नपूर्ण होटलको रकमसँग नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’जोडिएका छन् ।

ओलीले भने केदार खतिवडाले सबै रकम पोको पारेर वैद्यतिर गएको बयान दिएको स्रोतले जनाएको छ । उनलाई काण्डमा झोस्ने काम भने गुणराज लोहनीले गरेको स्रोतको दाबी छ ।

तर, गुणराजले अन्नपूर्ण होटल काण्डमा आफू संलग्न नरहेको दाबी गर्दै आएका छन् । त्यहाँ मोलमोलाइ गर्न लोहनीले कीर्तिपुरका कांग्रेस कार्यकर्ता कैलाश लोहनीलाई साथ लिएको दाबी स्रोतको छ ।

रातोखबर पत्रिकामा काम गर्ने तर पार्टीको सहयोग रसिद बोकेर सहयोग उठाउँदै हिँड्ने भीमप्रसाद चापागाइँ पनि यो काण्डमा मुछिएका छन् । उनी अहिले पार्टी छाडेर हिँडेका छन् भने केदार खतिवडा पनि आर्थिक अनियमिततामा मुछिएपछि वैद्यतिर हान्निएका छन् । शिक्षक नेता गुणराज विप्लव पार्टीको बारा र पर्सा इञ्चार्जसमेत हुन् ।

उनले गरेका आर्थिक अनियमितताबारे आठौं बैठकमा वीरजंगले कुरा उठाएका थिए । तर, उनले पार्टीको कुनै पनि मिटिङमा आफ्नोबारे कुरा नउठेको दाबी गर्दै आएका छन् । उनी पछिल्लो कपिलवस्तु बैठक चल्दाचल्दै बीचैमा छाडेर काठमाडौँतिर लागेका थिए ।

विप्लवको पार्टीको महाधिवेशन चैत–वैशाखभत्रि गर्ने तयारी थियो । तर, चुनावका कारण महाधिवेशन सारिएको छ । यसैबीच, विभिन्न दलका नेताले खर्चिलो भएका कारण उम्मेदवार हुन नसक्ने भनाइ राखिरहँदा अब चुनाव कसले लड्ने भन्ने प्रश्न उठ्न थालेको छ ।

माओवादी केन्द्रका नेता राम कार्की (पार्थ)ले चुनाव महँगो भयो, म खर्च गर्न सक्दिन भन्दै मिल्ने भए टिकट बेच्थेँ भनेका थिए । त्यसैगरी, कांग्रेस नेता शशांक कोइरालाले पनि केही दिनअघि अघिल्लो पटक ६ करोड खर्च भएको दाबी गर्दै चुनाव लड्न नसक्ने बताए ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने मैले करोड रूपैयाँ जम्मा गर्न सकिनँ, त्यसैले टिकट छाडेँ, चुनाव लड्ने हिम्मत गरिनँ भनेका छन् । राजनीतिमा अध्ययनशील मानिएका यस्ता घागडान नेताहरूले यसरी तीतो पोखिरहँदा अब चुनावमा उठ्न तयार हुने को? प्रश्न खडा भएको छ ।

यी नेताहरूको भनाइलाई आधार मान्ने हो भने चुनाव लड्ने ल्याकत करोडपतिसँग मात्रै छ, राजनीति गर्नेहरू विस्तारै पाखा लाग्दैछन ।  राजीव गुरुङ मनाङबाट, पर्शुराम बस्नेत मोरङबाट, महेश बस्नेत, कर्ण थापा, विनोद चौधरी, उमेश श्रेष्ठ मात्रै चुनावमा उठ्ने या एकमुष्ट चन्दा बुझाएर समानुपातिकतर्फ सुरक्षित हुने ल्याकत भएका देखिएको चर्चा शुरु भएको छ ।

करोड नहुनेले टिकट त पाउलान् तर जित्न सक्ने अवस्था छैन । निर्वाचन आयोगले तोकेको खर्चको सीमा हेर्दा तातो चिया खान पनि नपुग्ने देखिन्छ । र, चुनावको वास्तविक खर्च भने करोडभन्दा कम नहुने कुरा राजनीतिक गर्ने नेताहरूको भनाइले पुष्टि गरेको छ ।

यो चुनाव प्रणाली कायम राखुञ्जेलसम्म आउँदा दिनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जस्तो दुईतिहाइको सरकार त के कुरा कुनै एक पार्टीको बहुमतको सरकार पनि बन्न गाह्रो छ किनभने प्रत्यक्ष निर्वाचन मात्रै नभएर समानुपातिक प्रणालीले गर्दा पनि कसैले एकल सरकार बनाउन सक्ने अवस्था नदेखिएको हो ।

एकल सरकार नबनेपछि मिलिजुली सरकार बन्छ, मिलिजुली सरकारमा बार्गेनिङ गर्न पाइने भयो । यसबाट अहिले अपनाइएको चुनाव प्रणालीमै खोट छ भन्ने सावित भएको आलोचकहरूले बताउँदै आएका छन् ।

टिप्पणीहरू