खर्च घटाउन सिंहदरबारमा बैठक तारन्तार, आज अर्थमन्त्रालयको सूचना
कोरोना महामारीपछि उत्पन्न विषम आर्थिक परिस्थिति र श्रीलंकाको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै सरकारले सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन पहल गरेको बताइएको छ । हिजो पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव शंकर दास बैरागीको अध्यक्षतामा सार्वजनिक खर्चमा मितव्ययित ल्याउने बारे बैठक डाकिएको हो ।
हिजो मध्यान्ह झण्डै डेढ घण्टा भएको बैठकमा सकेसम्म खर्च कटौतीको निम्ति सरकारी निकायलाई दिनुपर्ने निर्देशनबारेमा छलफल भएको बताइन्छ । आजै अर्थ मन्त्रालयले इन्धन सुविधा प्राप्त गर्ने सरकारी अधिकारीहरुलाई आगामी असारसम्म २० प्रतिशत कटौती गर्न निर्देशन दिएको छ । सरकारी र अर्थ सरकारी कार्यालय तथा संघ संस्थामा इन्धन सुविधा कोटामा निर्धारण गरिएकाले प्रतिशतले कटौती गर्न आदेश दिइएको मन्त्रालयले जनाएको छ ।
सार्वजनिक खर्च र विशेषगरी इन्धन सुविधा रकम बढ्न नदिन यसअघि नेपाल राष्ट्र बैंक र नेपाल आयल निगमले सरकारलाई साताको दुई दिन बिदा दिन आग्रह गरेका थिए । तर, साताको दुई दिन बिदा दिँदा सर्वसाधारणले दुःख पाउने, सरकारको राजश्व संकलनमा प्रत्यक्ष असर पर्ने भएकाले बिदाको सट्टा इन्धन सुविधामा २० प्रतिशत कटौती गर्ने निर्णय गरिएको स्रोतले बताएको छ ।
टिप्पणीहरू