खोटाङमा अधुरो भागबण्डाको सहमति

खोटाङमा अधुरो भागबण्डाको सहमति

आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका खोटाङका सत्तारुढ चार दलले अधुरो भागबण्डाको सहमति गरेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये ६ वटामा काँग्रेससहितको र चारमा काँग्रेस बिनाको गठबन्धन गर्ने निर्णय भएको हो ।

गत १६ चैत यता निरन्तर बसेको सत्तारुढ दल काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका जिल्लास्तरीय नेताहरुको बैठकले हिजोराति पालिका प्रमुख र उपप्रमुखको भागबन्डा टुंग्याएको हो । जसमध्ये चार तहमा भने काँग्रेसले एकल चुनाव लड्ने सहमति भएको पूर्वसांसद एवं समाजवादीका केन्द्रीय सदस्य कुलप्रसाद फुयाँलले बताए ।

यस्तो छ भागबण्डा :

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा
प्रमुख : काँग्रेस
उपप्रमुख : माओवादी केन्द्र

बराहपोखरी गाउँपालिकामा
अध्यक्ष : काँग्रेस
उपाध्यक्ष : एकीकृत समाजवादी

रावाबेँसी गाउँपालिकामा
अध्यक्ष : काँग्रेस
उपाध्यक्ष : माओवादी केन्द्र

ऐसेलुखर्क गाउँपालिकामा
अध्यक्ष : माओवादी केन्द्र
उपाध्यक्ष : काँग्रेस

खोटेहाङ गाउँपालिकामा
अध्यक्ष : माओवादी केन्द्र
उपाध्यक्ष : काँग्रेस

जन्तेढुंगा गाउँपालिकामा
अध्यक्ष : माओवादी केन्द्र
उपाध्यक्ष : काँग्रेस

हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र साकेला गाउँपालिकामा भने काँग्रेसले एकल उम्मेदवारी दिने सहमति भएको छ । काँग्रेस एक्लै प्रतिस्पर्धा गर्ने भए पनि ती चार स्थानीय तहमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीचमा चुनावी तालमेल हुने बताइएको छ ।

जसअनुसार केपिलासगढी गाउँपालिकाको अध्यक्ष समाजवादी र उपाध्यक्ष जनता समाजवादीको भागमा परेको छ । साकेला गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष जनता समाजवादीले पाएका छन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश १ का खानेपानी, सिँचाई तथा ऊर्जामन्त्री रामकुमार राई पासाङले बताए । यद्यपि यसबारेमा थप छलफल भइरहेको जनाइएको छ ।

हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एकीकृत समाजवादी र जनता समाजवादीले माओवादी केन्द्रलाई सहयोग गर्ने सहमति भएको छ । चार स्थानीय तहमा काँग्रेस एक्लै लड्ने भए पनि मित्रवत् र स्वस्थ प्रतिस्पर्धा गर्ने सहमति बनेको छ ।

जिल्ला समन्वय समिति प्रमुख भने जनता समाजवादीलाई दिने सहमति भएको छ । जिल्ला समन्वय समिति उपप्रमुखको भागबन्डा छलफलकै चरणमा छ । गठबन्धन दलले पालिका प्रमुख, उपप्रमुखदेखि जिल्ला समन्वय समिति प्रमुखको भागबन्डा टुंग्याए पनि ७९ वडाको भागबन्डा टुंग्याउन अझै बाँकी छ ।

टिप्पणीहरू