दिउँसोसम्म तालमेल टुङ्गिने,सत्ता गठबन्धनले आज बल्ल सास फेर्ने

दिउँसोसम्म तालमेल टुङ्गिने,सत्ता गठबन्धनले आज बल्ल सास फेर्ने

आगामी स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरुले तालमेलको निर्णय गरे पनि अन्तिम स्वरुप निर्क्यौल भएको छैन । दिनहुँ र दिनको दुई पटकसम्म बैठक बसे पनि गठबन्धनको छलफल भ्यागुताको धार्नी भएको आरोप लागेको छ । छ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा केन्द्रीय गठबन्धनको कार्यदल र शीर्ष नेतृत्वले निर्णय गर्ने भनिए पनि हिजो साँझसम्म हलो अड्किएकै छ ।

आज बिहान ११ बजेलाई पुनः बालुवाटारमा बैठक डाकिएको छ । उता कतिपय जिल्लामा गठबन्धनमा सामेल दलहरुले आफ्नै हैसियतमा चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरेका छन् । पोखराका काँग्रेस कार्यकर्ताले कुनै हालतमा महानगरपालिका प्रमुखको आफ्नो दाबी नछाड्ने अडान लिएका छन् । भलै काँग्रेसका शीर्ष नेताले कार्यकर्ताले त्यसो भने पनि तालमेलमा आफूहरु बाधक नबन्ने बताएको बुझिएको छ ।

हिजो बिहान ९ बजेदेखि बालुवाटारमा तालमेल मिलाउन भनेर बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठक दिउँसो साढे १२ बजेदेखि केही घण्टा स्थगित भएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्रकार सम्मेलनमा निस्केपछि रोकिएको बैठक दिउँसो ३ बजेबाट पुनः सुचारु भएको हो ।

“हिजो दिनभर प्रधानमन्त्री देउवा समेत बैठकमा हुनुहुन्थ्यो । उहाँले थोरै बोलेर अरुको कुरा सुन्नुभएको थियो । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मिल्नै पर्छ । मिलेर जानुको विकल्प छैन ।’

त्यसपछि भरतपुर महानगरपालिकाको मेयर लगभग माओवादीलाई दिने कुरामा सबै सहमत भएका छन् । अन्यत्रको विषयमा ठासठुस भए पनि खासै नमिलेको विषय पोखरा हो । पोखरावारे पहिले रामचन्द्र पौडेलले अडान लिएका थिए । उनले ‘तलकाले मान्दैनन्’ भन्दै पोखराका काँग्रेसीहरुको पीडा पोखे । अन्तमा उनैले ‘म सहमत छु, गठबन्धनमै छु’ भनेर विषयलाई सहज बनाएको बुझिन्छ ।

पोखराको विषयमा गाँठो पर्नुमा काँग्रेसको आन्तरिक राजनीति जिम्मेवार भएको बताइन्छ । त्यहाँ अधिकांश संस्थापनपक्ष विरोधी नेता तथा कार्यकर्ता भएकाले पनि पोखरामा स्थानीय काँग्रेसीले अड्डी कसेका हुन् ।

कार्यदलमा लामो समय माथापच्ची भएपछि प्रधानमन्त्री देउवा र नेता पौडेलले पोखराका कार्यकर्तालाई आज बालुवाटारमा बोलाएर सम्झाउने सहमति भएको छ । उनीहरुलाई काँग्रेसी नेताले सम्झाएर पोखरा महानगरको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीलाई दिने भन्ने वचनपछि हिजो साँझ नेताहरु बालुवाटारबाट लाखापाखा लागेका छन् ।

उपमहानगरपालिका र महानगरका उपमेयरहरुको बारेमा आज बिहानको बैठकमा टुंगो लगाउने सहमति भएको छ । आज उपप्रमुखहरुको बारेमा पनि मिहिन ढंगले छलफल गर्ने भनिएको छ ।

हिजोको बैठकमा एमालेले जितेका पालिकामा भागबण्डा लगाउने सैद्धान्तिक सहमति भएको हो । त्यहि क्रममा महानगरपालिका भाग लगाउँदा पोखरा एकीकृत समाजवादीको भागमा परेको हो । तर, काँग्रेसभित्रैको अन्तरविरोधले उक्त विषयलाई जटिल बनाएको बैठकमा सहभागी नेताहरुको बुझाइ छ ।

यता काठमाडौंमा मेयर काँग्रेसलाई दिने भनिए पनि उपमेयरको टुंगो लागेको छैन । काँग्रेसले उपमेयर पनि खोजेको बताइन्छ, तर गठबन्धनमा एकीकृत समाजवादीलाई दिने कुरोमा सबै सहमत हुने छनक पाइएको छ ।

उता,वीरगञ्जमा पनि काँग्रेसले अन्तिमसम्म अडान लिएको जनता समाजवादी पार्टीको बुझाइ छ । काँग्रेसले अवरोध हुने ढंगको कुरो गरेपछि जसपाले ‘प्रतिस्पर्धा गर्ने कि सहकार्य’ भन्ने आशयले आफ्ना धारणा राखेको थियो । वीरगञ्जमा जनता समाजवादी पार्टी र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा गर्ने कुरो भएपछि विराटनगरमा पनि पहिले जितेका र मुख्य प्रतिस्पर्धीबीच भिडन्त हुने कुरो उठ्यो । यसो हुँदा पुनः तालमेलको कुनै अर्थ नहुने विश्लेषकहरु बताउँछन् । ‘जम्मै काँग्रेसलाई दिने भए तालमेल किन ?,’ जसपाका एक जना नेताले भनेका छन् ।

“एउटै चिन्हमा चुनाव लड्ने विषयमा केही कानुनी जटिलता रहेको गठबन्धनको निश्कर्ष छ । त्यहि कुरो बुझेर एमालेले गठबन्धनलाई अप्ठेरो पार्न निर्वाचन आयोगलाई चैतमा नै मतपत्र छाप्न लगाएको उनीहरुको बुझाइ हो ।”

हिजो दिनभर प्रधानमन्त्री देउवासमेत बैठकमा हुनुहुन्थ्यो । उहाँले थोरै बोलेर अरुको कुरा सुन्नुभयो । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मिल्नै पर्छ । मिलेर जानुको विकल्प छैन ।’ हिजो प्रधानमन्त्रीको कारण बैठक समाधानको नजिक पुगेको स्रोतको निश्कर्ष छ । प्रधानमन्त्रीले धेरै पटक शीर्ष नेतासँग कहिले एक्लाएक्लै र कहिले सामूहिक छलफल गर्नुभएको थियो । दुई तीन चरणमा कुरा भएकाले वार्ता र छलफलको विमती साँझसम्ममा साँघुरो भएको दाबी छ ।

हिजोको बैठकमा सहमतिको नाममा जति समय लागे पनि चर्को आवाज कसैले पनि ननिकालेको बालुवाटार स्रोतको भनाइ छ । बैठकमा एउटै चिन्हबाट तालमेल गरौं भन्ने कुरो निस्केन । त्यसको निम्ति समय घर्केकाले कुरो नचलेको बताइन्छ । एउटै चिन्हमा चुनाव लड्ने विषयमा केही कानुनी जटिलता रहेको गठबन्धनको निश्कर्ष छ । त्यहि कुरो बुझेर एमालेले गठबन्धनलाई अप्ठेरो पार्न निर्वाचन आयोगलाई चैतमा नै मतपत्र छाप्न लगाएको उनीहरुको बुझाइ हो । किनभने यसबाट अहिले गठबन्धनको तालमेलमा एउटै चिन्ह लिएर उठ्न असहजता उत्पन्न भएको छ ।

आयोगले अहिले एउटै खालको मत्रपत्र बनाएको छ । प्रदेशगत रुपमा छापेको भए पनि हुनेमा आयोगले त्यसो नगरेको गठबन्धनको बुझाइ हो । आगामी साता उम्मेदवारी दर्ता गरेपछि छाप्न सकिने मतपत्रलाई पहिले नै छापिदिनुको रहस्य एमालेले जम्मा पारेको कमल थापा र एकनाथ ढकालसम्मलाई सूर्य चिन्हमा निर्वाचनमा उठाउन मार्ग प्रशस्त गरिएको रूपमा बुझिएको छ । यसबाट एमालेले आफ्नो चिन्हमा उनीहरुलाई चुनावी प्रतिस्पर्धाको सुविधा दिने तर गठबन्धनलाई अप्ठेरो पार्ने रणनीति आयोग नेतृत्वले गरेको बालुवाटारमा हिजो चर्चा गरिएको थियो ।

विगतको अनुभवलाई हेर्दा गठबन्धनमा रहेका दलहरुले अलग अलग चिन्हमा प्रतिस्पर्धा गर्दा मत धेरै बदर हुने सम्भावना रहन्छ । पहिलेको निर्वाचनमा विराटनगर उपमहानगरमा मात्रै ७ हजार मत बदर भएको थियो । छुट्टाछुट्टै चिन्ह लिएर उम्मेदवारको तालमेल हुँदा सर्वसाधारणले लहरै चुनाव चिन्हमा स्वस्तिक छाप लगाइदिएका थिए ।

त्यसो हुँदा काँग्रेसले मेयर र उपमेयरमा आफ्नै उम्मेदवार उठाएकाले उसको मत बदर भएन । यता तत्कालीन एमालेको मेयर र माओवादीको उपमेयर उठ्दा ती मत बदर भएको हो । सोही कारण काँग्रेस विजयी भएको थियो भनिन्छ ।

टिप्पणीहरू