अमेरिकाको चर्को विरोध गर्ने इमरान खानको सरकारमा कतिजना अमेरिकी ?
पाकिस्तानमा गत सातादेखि सरकार परिवर्तन भएको छ । क्रिकेट खेलाडीबाट करियर बनाएका प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि सेहबाज सरिफको नेतृत्वमा नयाँ सरकार बनेको छ । अब करिब डेढ वर्ष सोही सरकारले पाकिस्तानमा शासन गर्ने छ ।
आफ्नो सरकार ढाल्नमा पश्चिमा शक्तिको हात रहेको बताउँदै आएका निवर्तमान प्रधानमन्त्री इमरान खान र उनको पार्टी पाकिस्तान तेहरिक ए इन्साफले पछिल्ला दिनमा सोझै अमेरिकाविरुद्ध आगो ओकल्न थालेको छ । सरकारबाट हटे पनि अमेरिकाविरुद्ध उग्र धारणा राखेका कारण सर्वसाधारणमा अझै पनि उनीप्रतिको ‘क्रेज’ नघटेको बरु बढेको प्राप्त समाचारहरुमा जनाइएको छ ।
आफ्नो सरकार परिवर्तन गराउन अमेरिका हात धोएर लागेको भन्ने खानको भनाइलाई स्वयम् उनको कार्यकालमा विभिन्न महत्वपूर्ण ओहोदामा दिइएको नियुक्तिले भने प्रमाणित नगर्ने विपक्षी दलहरुको धारणा छ । त्यसरी महत्वपूर्ण नियुक्ति दिइएका १५ जनामध्ये चार जनासँग बेलायती नागरिकता भएको र बाँकी ११ जनासँग अमेरिकी नागरिकता रहेको खबर बाहिरिएको हो ।
अमेरिकी नागरिकता बोकेका मोइद युसुफ खानको कार्यकालमा पाकिस्तान नेशनल सेक्युरिटी एड्भाइजर थिए । उनी प्रधानमन्त्रीका विशेष सहयोगी पनि हुन् । खान मन्त्रिमण्डलका अर्थ तथा राजश्व मन्त्री हाफिज शेखसँग पनि अमेरिकाको नागरिकता रहेको बताइन्छ । अर्का पेट्रोलियम पदार्थसम्बन्धी विशेष सहयोगी नदिम बबरले पनि अमेरिकाकै नागरिकता बोकेको खबर चुहिएको हो ।

त्यसैगरी सानिया निस्तारसँग पनि अमेरिकाकै नागरिकता रहेको दाबी गरिन्छ । उनी प्रधानमन्त्रीको गरिवी निवारण कार्यक्रमसम्बन्धी विशेष सहयोगी थिइन् । प्रधानमन्त्रीको राजनीतिक संवादसम्बन्धी विशेष सहयोगीमा नियुक्त सहबाज गिलसँग पनि अमेरिकी नागरिकता छ ।
प्रधानमन्त्री खानका आन्तरिक तथा जवाफदेही सल्लाहकार सहजाद अकबरसँग बेलायती नागरिकता, संसदका उपसभामुख क्वासिम खान सुरीसँग पनि बेलायती नागरिकता र लागुपदार्थ नियन्त्रणमन्त्री अजम सावतीसँग अमेरिकी नागरिकता रहेको दाबी गरिएको थियो ।
प्रधानमन्त्री खानका गैरआवासीय पाकिस्तानी तथा जनशक्ति विकाससम्बन्धी विशेष सहयोगी जुल्फी बुखारीसँग बेलायतको, कानुन तथा न्यायसम्बन्धी संघीय संसदकी सचिव मलिका बुखारीसँग पनि बेलायतको नागरिकता रहेको चर्चा चलाइएको थियो ।
प्रधानमन्त्रीका विशेष सहयोगी मन्सुरसँग अमेरिकाको,सेनाका लेफ्टिनेण्ट जनरल असिम बाज्वासँग पनि अमेरिकाको र केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानका गभर्नर रेजा बाकिरले पनि अमेरिकाको नागरिकता बोकेको दाबी गरिन्छ ।
टिप्पणीहरू