मेयर अरुलाई बुझाउन खोजेको भन्दै काँग्रेसको कार्यालयमा तालाबन्दी

मेयर अरुलाई बुझाउन खोजेको भन्दै काँग्रेसको कार्यालयमा तालाबन्दी

नेपाली काँग्रेस मकवानपुर जिल्ला पार्टी कार्यालयमा ताल्चा लगाइएको छ । नेपाल तरुण दल हेटौँडा उपमहानगर समितिले पार्टीको नगर समितिको बैठक बसिरहँदा दबाब दिने उद्देश्यले तालाबन्दी गरेको बताइएको छ ।

तरुण दलले १९ वटै वडा सभापति सम्मिलित पार्टीको नगरसमितिको बैठकमा हेटौंडाको मेयर काँग्रेसले नै पाउनुपर्ने, अन्यथा एकल निर्वाचनमा जाने निर्णय गर्न दबाब दिन तालाबन्दी गरेको काँग्रेस स्रोतले बताएको छ ।

काँग्रेस सभापतिसहित पदाधिकारीहरु र सभाहलमा बैठक चलिरहँदा बाहिरबाट तालाबन्दी गरिएको थियो । तर काँग्रेस नगर समितिले काँग्रेसले हेटौंडा उपमहानगरको मेयर पदमा अन्य पार्टीलाई दिन नसकिने बरु गठबन्धन नगरी मित्रवत् व्यवहारसहित निर्वाचनमा जान सकिने निर्णय गरेपछि सभाहलमा लगाइएको ताल्चा खुलाइएको हो ।

सभापतिसहित पदाधिकारीका कार्यकक्षमा लगाइएको ताल्चा भने यथावत नै छ । मेयर काँग्रेसले पाउने ग्यारेन्टी नभएसम्म लगाइएको ताल्चा नखोलिने भन्दै काँग्रेसजनले दबाबमूलक आन्दोलन जारी राखेका छन् ।

देशभरका ११ वटा उपमहानगरपालिकामध्ये नेकपा एकीकृत समाजवादीले नेतृत्व पाउने उपमहानगरको रुपमा हेटौंडा परेको छ । गत स्थानीय तहको निर्वाचनमा माओवादीसँग मिलेर निर्वाचनमा सहभागी भएको काँग्रेसले मेयरको टिकट पाउँदा उम्मेदवार बनेका आनन्दराम पराजुलीले २२ हजार पाँच सय नौ मत प्राप्त गरी जम्मा छ सय १५ मतान्तरले पराजय भोगेका थिए ।

त्यतिखेर एमालेका हरिबहादुर महतले २३ हजार एक सय २४ मत ल्याएका थिए । उपमेयरमा पनि एमालेकै मीनाकुमारी लामा २३ हजार चार सय ३७ मत ल्याई विजयी बनेकी हुन् ।

काँग्रेस–माओवादी गठबन्धनका तर्फबाट बलराम बलले उपमेयरमा १७ हजार ११ मत ल्याएका थिए । अहिले उपमेयर लामा नेकपा एकीकृत समाजवादीमा छिन् भने बल नेकपा एमाले प्रवेश गरेका छन् ।

कम्युनिष्टहरु तीन टुक्रा भएको अवस्थामा हेटौँडाजस्तो महत्वपूर्ण पालिका साना दललाई जिम्मा लगाउने कुराको विरोध गरिएको स्थानीय काँग्रेसीहरुले गरेका छन् । सोहीअनुसार कार्यालयमा ताल्चा लगाएर दबाब दिइएको बताइएको छ ।

त्यसो त काँग्रेसले नै हेटौंडाको नेतृत्व पाउँदा पनि पुराना उम्मेदवार पराजुली र अहिले नयाँ दावेदार प्रभात दाहालबीच कुरा मिल्ने छाँट छैन । पराजुली सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनानिकट छन् भने दाहाल प्रकाशमान सिंह निकट रही अहिले बागमती प्रदेश सभापति बानियाँसँग सम्बन्ध बढाएका नेता हुन् ।

टिप्पणीहरू