सौतेनी आमा काखामा, आफ्नी आमा पाखामा

सौतेनी आमा काखामा, आफ्नी आमा पाखामा

-दीपक खनाल

त्यो दिन मानसपटलबाट कहिल्यै मेटिँदैन । फागुन ११ गते प्रयोगात्मक परीक्षाको दिन थियो । सरले काठमाडौँ उपत्यकावासी नेवार समुदायका एकजना साथीलाई सोधे । उनले नेपालीमा उत्तर दिन थालेका मात्र के थिए, सरको ’ब्लडप्रेसर’ एकाएक उच्च भयो । झोक्किए–’स्टप ! स्टप !! डन्ट यू नो ? दिस इज एक्जाम ! गिभ योर् आन्सर इन इंग्लिस ।’ साथी अक्मकाए । ’होपलेस’ जस्तै भए । सरको अंग्रेजी भाषण फेरि फुर्यो– ’इफ यू कान्ट स्पिक इन इंग्लिस गो आउट फ्रम एक्जाम हल !’

साथी बल गरेर बोल्न खोज्दै थिए । सरले बस उठ नभनी अर्कोलाई त्यसरी नै सोधे । मेरो ध्यान त्यता तानिएन । सरको अंग्रेजी आडम्बर र ती साथीमाथि भएको व्यवहारतिर मात्रै मोडियो । मैलाई त कन्पारो तात्यो, नमज्जा लाग्यो भने ती साथीलाई कति नरमाइलो भयो होला ? नेपालमा जन्मेर, नेपाली भएर, नेपाली बोल्दा ठूलो अपराध गरेजस्तो ती साथीले सहनुपरेको अपमान देख्दा झोक पनि चल्यो ।

प्रेस काउन्सिल नेपालद्वारा आयाेजित  भाषासम्बन्धी कार्यक्रममा  भाषाविद्हरूबीच नै झण्डै हात हालाहाल भएकाे थियाे ।

नेपाली त राम्ररी बोल्ने अभ्यास नभएका साथीलाई कानमा खुसुक्क भन्न मन लागेको थियो– ’तपाईँको मातृभाषा नेपाल (नेवारी) भाषामा सोध, कति राम्रोसँग जवाफ दिन्छु’ भन्नु न ती सरलाई भनेर । तर त्यस्तो भन्ने वातावरण तत्काल भएन र ती साथीमा पनि यस्तो जुक्ति तत्काल आउने कुरै भएन । गुरु जस्ताको त्यस्तो सोच, विचार, व्यवहार देखेर मलाईचाहिँ यो बुर्जुवा शिक्षा साँच्चै नपढौँ नपढौँ जस्तो नलागेको होइन । पहिला पुराना कम्युनिष्ट अनि पछि माओवादीले बुर्जुवा शिक्षा नपढ्न उक्साएकै थिए । त्यहीबेला हरिभक्त कटुवालको रहर कविताको यो अंशको सम्झनाले झन् जुरूक जुरूक पारेकै थियो :

फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श राम्रो लाग्छ
बनिसकेको बाटामा हिँड्नभन्दा
बाटो बनाउँदै हिँड्न रहर लाग्छ ।
इतिहासका ठेली होइन
एउटा कोदालो चाहिन्छ मेरो पाखुरालाई
योजना होइन
पैँतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई
र, गर्नु छ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरूको
बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको

पढाइमा अल्लि लोभी भएकाले पढ्न भने छोडिहालिएन । पहिले बुर्जुवा शिक्षा भनेर बहिष्कार गर्नेहरू नै पछि स्कुल, क्याम्पस भर्ना भएर पढेको देख्दा पढाइ छोडिहालेको भए गल्ती हुनेरहेछ भन्ने महसुस हुन्छ अहिले । तैपनि यो बाहिर देखाउने प्रमाणपत्रधारी शिक्षा नै सबै कुरा होइन । यो त अंग छोप्ने एउटा वस्त्रजस्तो मात्रै हो ।

यसरी अहिले अंग्रेजी सिकाउने र मान्छे बिकाउने नाममा नेपाली भाषाभाषिका र मातृभाषाहरूलाई मारिँदै छ, पछाडि पारिँदै छ । नेपालको संविधान, २०७२ मा यहाँ बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुने, देवनागिरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने, नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने र भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्धारण गरेबमोजिम हुने उल्लेख भए पनि संविधानविरोधीहरूले आज यी भाषाभाषिकाविरुद्ध देखिने, नदेखिने गरी सूक्ष्म रूपमा अभियान चलाइरहेका छन् ।

भाषाविद्हरूबीच समेत एकता छैन । नेपाली भाषाको व्याकरणलाई कुन मान्यता दिने भन्नेमै उनीहरूबिच लडाईँ हुने गरेको छ । केही वर्षअघि प्रेस काउन्सिल नेपालद्धारा आयोजित भाषासम्बन्धी कार्यक्रममा भाषाविद्हरूबीच नै झण्डै हात हालाहाल भएको थियो । यसरी नेपाली भाषाविद् र भाषाप्रेमीबीच नै विभाजनको खाडल ल्याएर द्वन्द्व बढाउन साम्राज्यवादी सफल भएका छन् । आज विश्वमा जहाँ गए पनि नेपालीहरू संगठित भएको देखिएको छ ।

गोरखाल्याण्डजस्ता राज्य स्थापनाका लागि आन्दोलन उठेका छन् । त्यसैले नेपाली–नेपालीबीच झगडा पार्ने क्रम बढाइएको छ । भाषाभाषिकाका विद्वान्हरू नै यस्तो षड्यन्त्रमा फसेका छन् । संसारमा नागरिकबीच छिटोभन्दा छिटो फाटो ल्याउन सकिने माध्यम कि भाषा हो, कि धर्म कि जाति । नेपाललाई सग्लो राष्ट्र रहन दिन नखोज्नेहरू यिनै तीन प्रमुख आधारलाई छिन्नभिन्न पार्न खोज्दैछन् । यसका लागि विभिन्न विधि अपनाएका छन् । अरुलाई मार्ग दर्शन गराउने कतिपय पत्रकारले समेत मौलिक नाम नै नपाएझैँ आफ्नो मिडियाको नाम नेपालीभन्दा अंग्रेजीबाट राख्दा व्यवसाय चौपट बृद्धि हुने ठानेका छन् ।

बोर्डिङ स्कुलका नाममा पनि नेपाली भाषाभाषिका र मातृभाषालाई मार्ने गरिएको छ । नेपालीमा प्राकृतिक सौन्दर्यलगायत विभिन्न नामबाट बोर्डिङ स्कुल खोल्न सकिने सम्भावना हुँदाहुँदै कथित अंग्रेजीबाट नक्कल गरेर सबैजसो बोर्डिङको नाम राखेको देखिन्छ ।

यतातिर ध्यान दिने कसले ? दिनानाथ शर्मा शिक्षामन्त्री हुँदा पहल गर्न खोजेका त थिए तर किन हो किन उनी पनि साग झैँ फल्यातफुलुत गले । नेपाली नजाने पनि हुन्छ, अंग्रेजी जसरी पनि जान्नैपर्छ भन्ने मान्यता आजका सबैजसो बोर्डिङहरूले स्थापित गरिरहेका छन् । वाल मस्तिष्कमा यस्तो धारणा जबर्जस्त घुसाइएको छ । यस्ता बोर्डिङको लक्ष्य राष्ट्रका लागि भन्दा विदेश पलायन हुने जनशक्ति उत्पादन गर्ने रहेको छ ।

यसैको परिणाम आज युवा जनशक्ति प्लस टु गर्न नपाई विदेश हान्निने गरेको छ भने पढ्न नसकेकाहरू खाडी मुलुकतिर श्रम बेच्न विवश छन् । जसले गर्दा गाउँ रित्तो, सिख्रो भएको छ । सबैजसो बोर्डिङ, स्कुल, कलेजमा प्रश्नपत्र अंग्रेजी भाषामा मात्रै निकालिन्छ । धेरै विद्यार्थीले ज्ञान भएर पनि प्रश्न नबुझ्दा उत्तर दिन सक्दैनन् । यसो हुँदा धेरै उत्तीर्ण हुन सक्दैनन् । कतिपयले उत्तीर्ण नभएको तथा कम अंक आएकोमा हीनतावोधले आत्महत्यासमेत गरेका छन् । यो बलजफ्ती गराइएको हत्या नै होइन त ? यसमा को जिम्मेवार हुने ? सत्ता, सरकार र प्रशासनमा बसेकाहरूले यसरी कहिल्यै सोचेका छन् ?

अरु त अरु सरकारी कार्यालयमा समेत नागरिकलाई जानकारी नभई नहुने सामग्री, सूचनामूलक कागजात नेपाली र मातृभाषाहरूको सट्टा अंग्रेजीमा तयार पार्ने गरिएको छ । यस्ता सामग्री सामान्य जनताले पढ्न, बुझ्न जान्दछन् ? अनि यो जनता झुक्याएर शासन गर्ने मेसो होइन ? यसलाई अंग्रेजीका साथसाथै नेपाली र अन्य मातृभाषामा पनि सम्प्रेषण गर्नुपर्ने होइन ?

आठ वर्ष जापान बसेर पिएचडी सकी फर्केका एकजना साथी त्यहाँ उच्च अध्ययनको तहमा समेत अंगे्रजी भाषालाई बाध्यात्मक नबनाइने बताउँछन् । उनका अनुसार अंग्रेजी भाषा राम्ररी नजान्नेले पनि दोभाषे राखेर आफ्नो अध्ययन पुरा गर्न पाउँछ । संयुक्त राष्ट्रसंघको घोषणापत्रको दफा १९ मा त कुनै पनि व्यक्तिलाई बिना डर, भेदभाव, आफ्ना विचार, धारणा, सूचना निर्धक्कसँग अभिव्यक्त गर्न पाउने अधिकार सुनिश्चित गरिएको छ । यस्तै अंग्रेजी कवि जोन मिल्टन कुनै व्यक्तिको अन्तस्करणमा रहेको कुरालाई जस्ताको तस्तै अभिव्यक्त गर्न पाउनुलाई नै सबैभन्दा ठूलो स्वतन्त्रता ठान्दछन् ।

त्यसैले काटमार मात्र हिंसा होइन, कसैलाई यही भाषामा बोल, बोल्नुपर्छ, लेख्नुपर्छ भन्नु पनि हिंसा हो, मानसिक हिंसा । मनमा लागेको कुरा आफूले जानेको भाषाभाषिका, मातृभाषामा अभिव्यक्त गर्न नदिनु अपराध नै हो, स्वतन्त्रताको हरण नै हो । अन्तस्करणका कुरा सजिलै प्रस्फुटन गर्न पाए पो आनन्द हुन्छ, खुशी लाग्छ मानिसलाई । जसरी पनि लादिएको भाषामा बोल्नु, लेख्नुपर्छ भन्दा उसलाई मानसिक पीडा हुन्छ, शुरुको प्रसंगमा उठाइएजस्तै ।

अतः नेपाली भाषाभाषिका र मातृभाषालाई जोगाउने हो भने अब प्रत्येक कार्यालयमा एक एक जना नेपाली भाषाभाषिका र मातृभाषाका विज्ञ राख्नुपर्छ । यस्तो सम्भव नभए यसको सच्याइका लागि यस्ता विज्ञलाई सेवा करारमा लिनुपर्छ । प्रत्येक स्थानीय, प्रादेशिक र संघीय सरकारले नेपाली भाषाभाषिका र मातृभाषाहरूको संरक्षण, सम्वद्र्धन, अभ्यास र प्रयोगका लागि नीति ल्याउनुपर्छ । साथै सार्वजनिक रूपमा सम्प्रेषण, वितरण गरिने पर्चा, पम्पलेट, भित्ते लेखन, होर्डिङ बोर्ड, ब्यानर, विभिन्न्न पेशा, व्यवसायका कार्यालय, तिनको सेवाबारे लेख्दा समेत शुद्ध लेख्नैपर्ने कानुन ल्याइनुपर्छ । स्थानीय ठाउँका टोल, गाउँ, नगर आदिका नाम सोही ठाउँको मौलिकताका आधारमा राखिनुपर्छ ।

यद्यपि, यो पंक्तिकार अंग्रेजी भाषाविरोधी पटक्कै होेइन । अंग्रेजी जान्नु राम्रो हो । यो जान्दा बढी ज्ञान लिन सकिने पनि सत्य हो । संयुक्त राष्ट्र् संघबाट अन्तर्राष्ट्रिय मान्यता पाएको यो भाषा जान्नै पर्छ । अंग्रेजी भाषालाई शुरुमा महत्व नदिँदा चीनले पछुतो मानेर अहिले आफ्ना नागरिकलाई अंग्रेजी पढ्न, लेख्न, बोल्न सिकाएको कुरा समेत हामीलाई थाहा छ । यो जान्नु नै सबैथोक होइन । यो त एउटा सीप, दक्षता मात्रै हो । तैपनि, जन्म दिने आमा (नेपाली भाषाभाषिका, मातृभाषा) लाई पाखामा पारेर सौतेनी आमा (अंग्रेजी) लाई मात्र काखामा लिनचाहिँ कदापि पाइँदैन । सौतेनी आमालाई पनि माया, सम्मान गर्न त सकिन्छ तर त्योभन्दा पहिला आफ्नी आमालाई गर्नुपर्छ !

(हाल दाङ, तुल्सीपुर)

टिप्पणीहरू