दलहरूमा टिकटको दौडधुप, कसको फिर्ला दिन ?
जिल्लामा चुनावी सरगर्मी बढेको छ । एमाले, कांग्रेसले वडा तहका उम्मेदवार धमाधम छनोट गर्न थालेका छन् । नगरपालिका तथा गाउँपालिका अध्यक्षका आकांक्षीहरू धेरै देखिएका छन् ।
एमालेलाई पुराना पालिकाहरू जोगाउँदै नयाँ पालिका जित्ने चुनौती छ भने गठबन्धनका दल एमालेलाई पत्तासाफ गर्ने योजनामा छन् । कांग्रेसले माओवादीलाई भोट माग्ने, माओवादीले कांग्रेसलाई भोट माग्ने कुरा पार्टीको विचार र नीतिसँग मिल्छ त ? कार्यकर्ताले प्रश्न उठाउन थालेका छन् । एमालेबाट चोइटिएको नेकपा समाजवादी तनावमा छ ।
काभ्रेको निर्वाचन कार्यालयले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । जिल्लामा ३ लाख ३ हजार ५ सय ६० मतदाताले भोट हाल्न पाउनेछन् । जसमध्ये सबैभन्दा धेरै पुरुष १ लाख ५४ हजार १ सय ८३, महिला १ लाख ४९ हजार ३ सय ७५ र अन्य २ रहेका छन् ।
यसअघिको निर्वाचनमा खानिखोलामा एक जना अन्य समूहबाट मतदान भएको थियो भने यो पटक भुम्लु गाउँपालिकामा एक जना थपिएका छन् । मतदानका लागि १ सय ८९ वटा मतदान स्थल र ३ सय ८१ वटा मतदान केन्द्र कायम भएका छन् । यसअघि मतदान केन्द्र ३ सय ५० वटा कायम थिए ।
मतदाता थपिएसँगै मतदान केन्द्र थपिएका हुन् । निर्वाचन आयोगले १३ वटै पालिकाका लागि मुख्य र निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । धुलिखेल तथा काभ्रेपलाञ्चोक जिल्लाका लागि मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश मोहनराज भट्टराई छन् ।
बनेपा नगरपालिकामा शारदा भण्डारी, पनौतीमा गोविन्द घिमिरे, महाभारतमा खुविराम अधिकारी, मण्डनदेउपुरमा शान्ता नेपाल मरासिनी, भुम्लुमा रुद्र कोइराला, बेथान्चोकमा लक्ष्मीप्रसाद रेग्मी, पाँचखालमा जीवनप्रसाद दुलाल, नमोबुद्धमा विष्णुप्रसाद ज्ञवाली, तेमालमा विमला रेग्मी, चौरीदेउरालीमा शम्भुकुमार बस्नेत, खानिखोलामा चिरञ्जीवी गौतम छन् ।
उनीहरूले थप ८ जना कर्मचारी नियुक्त गरी निर्वाचन सम्पन्न गर्नेछन् भने मतगणनाका लागि अन्य कर्मचारी पनि तोकिने छन् । त्यस्तै, ३ सय ८१ जना मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीसहित प्रतिकेन्द्र ८ जनाका दरले कर्मचारी खटिनेछन् । कूल कर्मचारी संख्या ३ हजार ४८ हुनेछ । स्थानीय पालिकामा आवश्यकताअनुसार स्वयंसेवक खटिन सक्नेछन् ।
कर्मचारीलाई दिने भत्तामा मात्रै करोडाैँ बचत हुने देखिएको छ । सबैभन्दा धेरै पनौती नगरपालिकामा ३८ हजार १ सय ४५ मतदाता छन् भने बनेपामा ३७ हजार ५ सय ८१ र सबैभन्दा कम खानिखोलामा १० हजार ३ सय ९ मतदाता छन् ।
चौरीदेउरालीमा २० हजार १ सय ९१, तेमालमा २१ हजार १ सय ८, धुलिखेलमा २५ हजार ५ सय ८, नमोबुद्धमा २५ हजार ९ सय ५२, पाँचखाल २९ हजार ६ सय ९७ जना भोट हाल्न योग्य छन् । बेथान्चोकमा १४ हजार ५ सय ५१, भुम्लुमा १७ हजार २४, महाभारतमा १२ हजार ४ सय २०, रोशीमा २२ हजार ५ सय ४३ र मण्डनदेउपुरमा २८ हजार ५ सय ३१ मतदाता छन् ।
नेकपा एमाले काभ्रेले चैत्र २५ भित्रै पालिका स्तरमा उम्मेदवार छनोट गरिसक्न निर्देशन दिएको छ । चैत्र १४ गते सोमबार बसेको जिल्ला कमिटी बैठकले उक्त निर्णय गरेको सचिव राजन भुर्तेलले जानकारी दिए ।
धुलिखेलमा अशोक ब्याञ्जु र पनौतीमा भीम न्यौपानेले दोहो¥याउने अवसर पाएका छन् । दलहरू घरदैलो अभियानमा छन् । कांग्रेसले पनि केही वडामा उम्मेदवार सर्वसम्मत गरेको छ भने माओवादी र समाजवादी मौन छन् ।
टिप्पणीहरू