जनमैत्री अस्पताल सुटुक्क राज्यमन्त्रीलाई

जनमैत्री अस्पताल सुटुक्क राज्यमन्त्रीलाई

पूर्वजनमुक्ति सेनाहरूको लगानीमा बालाजुमा स्थापित जनमैत्री अस्पताल विक्री भएको छ । जनमुक्ति सेनाका तत्कालीन डेपुटी कमाण्डर एवं हालका अर्थमन्त्री जनार्दन शर्मा, बर्षमान पुन र बलदेव खनालको सक्रियतामा जनमैत्री फाउण्डेसनको नामबाट अस्पताल स्थापना भएको थियो ।

एक अर्ब २५ करोड रूपैयाँमा राज्यमन्त्री उमेश श्रेष्ठ, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र व्यवसायी उमेश पाण्डेको समूहलाई बेचिएको निकट स्रोतले जनाएको छ । उक्त अस्पतालको स्वामित्व कांग्रेस केन्द्रीय सदस्य, उद्योगी एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले ग्रहण गरिसकेको निकटस्थले जनाएका छन् ।

हाल सय शैयामा सञ्चालित अस्पताललाई स्तरोन्नति गरी दुई सय बेडको बनाउने तयारी छ । अस्पतालसँगै जनमैत्री फाउण्डेसन इन्स्टिच्युट अफ हेल्थ साइन्स पनि खोलिएको छ । यसको पठनपाठन भने श्रेष्ठद्वारा सञ्चालित ललितपुरको हात्तीवनस्थित लिटल एञ्जेल्स कलेजको हातामा हुँदै आएको छ ।

अस्पतालको नाममा नागार्जुनसँगैको मुड्खुमा पनि ९० रोपनी सरकारी जग्गा ९९ वर्षका लागि लिजमा लिइएको छ । सशस्त्र युद्धमा सहभागी भएका जनमुक्ति सेनाल माओवादी शान्तिप्रक्रियामा आएपछि रकम जम्मा गरेर उक्त अस्पताल स्थापना गरिएको थियो । आफूले पाउने तलबभत्ताबाट मासिक एक हजार रूपैयाँ जम्मा गरी २०६४ सालमा अस्पताल सञ्चालनमा ल्याइएको हो ।

अस्पताल बनाउन शिविरमा रहेका सबै सेनाको मासिक भत्ताबापतको कटाएर जनही एक हजार रूपैयाँका दरले रकम जम्मा गरिएको थियो । १० करोड रूपैयाँ जनमुक्ति सेना र अपुग रकम पार्टीका शीर्ष नेताबाट सहयोग प्राप्त भएको हो ।

बालाजु औद्योगिक क्षेत्रभित्र चार रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालित छ । व्यवस्थापन कमजोरीको कारण घाटामा गएर बन्दप्रायः थियो । सरकारले यसलाई कोरोना संक्रमणका बेला कोभिड–१९ विशेष अस्पताल बनाएर सञ्चालनमा ल्याएको थियो ।

माओवादी केन्द्रनिकट एक कानुनव्यवसायीले बताए अनुसार अस्पताल साटसुट बिक्रीपछि पूर्वजनमुक्ति सेना असन्तुष्ट बनेका छन् । फाउण्डेसनमा अनियमितता भएको भन्दै वित्तीय विवरण सार्वजनिक गर्नसमेत माग गरिएको छ ।

‘अस्पतालमा आफूहरूको ठूलो लगानी रहेकाले हिसाबकिताब सार्वजनिक नगरे आन्दोलनमा उत्रने धम्कीसमेत दिएका छन्,’ ती कानुन व्यवसायीले भने । पूर्वजनमुक्ति सेनाले यसअघि जनमैत्री अस्पतालमा ताला लगाएका थिए । बिक्रीपछि तिनले राज्यमन्त्री श्रेष्ठसँग अस्पतालको हिस्सा खोजेका छन् ।

टिप्पणीहरू