विप्लवको पार्टीमा निषेधको होडबाजी, कास्की इञ्चार्जमाथि पनि कारवाही
चुनाव उपयोगसम्बन्धी अलमलले नीतिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा चर्किएको अन्तरविरोध पार्टी विभाजनको तहमा पुगेको छ । अन्तरविरोध चर्किंदै जाँदा एकले अर्को पक्षमाथि कारवाहीको शृंखला नै शुरु भएको हो ।
चुनाव उपयोग र बहिष्कार दुवै नगर्ने कपिलवस्तु बैठकको निर्णयको मसी सुक्न नपाउँदै महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्ष चुनाव उपयोगको तयारीमा जुटेपछि केन्द्रमा बढेको असन्तुष्टि कास्की जिल्लामा छताछुल्ल भएको हो । कास्कीमा एकले अर्कालाई पार्टीबाट निकाल्ने होडबाजी नै चलेको छ ।
केही दिनअघि विप्लव समूहको कास्की जिल्ला कमिटीले सेक्रेटरी गोकुल पराजुलीसहित जिल्ला कमिटी सदस्यद्वय बद्री अधिकारी र रमेश बास्तोलालाई पार्टीबाट निकालेको थियो । जिल्ला इञ्चार्ज उमा भुजेल शिलुले पार्टीको निर्णय र नीतिविरुद्ध भ्रम सिर्जना गर्दै समानान्तर गतिविधि गरेको, अन्तरध्वंशको षड्यन्त्र गरेको, पार्टी नीतिलाई सही ढंगले कार्यान्वयन नगरेको र सामाजिक सञ्जालको प्रयोग गरी क्रान्तिविरोधी शक्तिलाई मलजल गरेको आरोप लगाउँदै उनीहरुमाथि कारवाहीको घोषणा गरेकी थिइन् ।
उक्त कारवाहीलाई काउण्टर दिँदै आज अर्को पक्षले उल्टै भुजेललाई कारवाही गरेको विज्ञप्ति सार्वजनिक गरेको छ । भुजेलमाथि दर्जनौं गम्भीर आरोप लगाउँदै उनीहरुले उनले गरेको कारवाहीको निर्णय ठाडै अस्वीकार गरेका छन् । आफ्नो असक्षमतालाई ढाकछोप गर्न हिटलरी शैलीमा भुजेलले पार्टी, संगठन र क्रान्तिविरोधी हर्कत गरेको उनीहरुको भनाइ छ ।
‘उमा भुजेल शिलु हदैसम्मको गुटवादी, फुटवादी, निरकुंश तथा स्वेच्छाचारी भएको कारण जिल्ला इञ्चार्जबाट बहिष्कार गर्दछौं’, जिल्ला कमिटीको लेटरहेडमा निकालिएको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भुजेलले दलाल माफियाहरुसँग आर्थिक सम्बन्ध बनाएर कास्कीमा संगठन क्षतविक्षत पारेको गम्भीर आरोप लगाइएको छ । साथै आर्थिक हिसाब किताब नदेखाएको, इमान्दार कार्यकर्तालाई किनारामा पारेको, धम्क्याएकोजस्ता आरोपसमेत उनीमाथि लागेको छ ।
‘विचार, नीति र सिद्धान्तलाई धज्जी उडाउँदै आफ्नो निहीत गुटवादी स्वार्थ पूरा गर्न तलदेखि माथिसम्मका कार्यकर्तालाई पैसाको भरमा सम्बन्ध बढाउने, डर धम्की र पैसाकै बलमा कार्यकर्ता किनबेच गर्ने जस्ता सर्वहारावादी मूल्यमान्यताविरुद्ध गम्भीर प्रकृतिका गल्तिहरु उमा भुजेल शिलुले गरिरहेको स्पष्ट पार्दै पार्टीलाई गम्भीर नोक्सान पुर्याउने दृष्टिकोण भएको उमा भुजेल शिलुलाई कारवाही गर्न पार्टीको केन्द्रीय कार्यालयलाई जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
टिप्पणीहरू